हावाहुरीले कम्तीमा २७ को मृत्यु ४०० भन्दा बढी घाइते

काठमाडौँ, चैत १८ । बारा र पर्सा जिल्लामा आइतबार साँझ आएको विनाशकारी हावाहुरीबाट कम्तीमा २७ जनाको मृत्यु भएको छ । घटनामा ४०० भन्दा बढी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले गोरखापत्रसँग राति १२ बजे कुरा गर्दै भन्नुभयो, “बारामा सबैभन्दा बढी जनधनको क्षति भएको छ । दुवै जिल्लामा गरी २७ जनाको निधन भएको जानकारी आएको छ । ” उहाँले ४०० भन्दा बढी घाइते भएका र गाउँगाउँबाट विवरण आउन बाँकी रहेको बताउनुभयो ।

 

पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार जिल्लाका सबै एम्बुलेन्स उद्धारका लागि गाउँगाउँमा पठाई सुरक्षाकर्मी परिचालन गरिएको छ । यस आपत्कालीन अवस्थामा घाइतेको उपचारमा कुनै कमी नहोस् भनी निर्देशन दिइएको उहाँले बताउनुभयो । 

 

प्रजिअ भट्टराईले भन्नुभयो, “घाइतेको उपचारमा रगत अभाव नहोस् भनी रेडक्रस परिचालन गरी निःशुल्क उपलब्ध गराउन व्यवस्था गरिएको छ । ” विभिन्न स्थानबाट आएको जानकारीको विवरण दिँदै उहाँले थप्नुभयो, “गण्डक चोकमा यात्रु सवार गाडीलाई नै विनाशकारी हुरीले पल्टाइदिएको छ । सडकमा गुडिरहेका हलुका सवारी साधन र मोटरसाइकलले अनियन्त्रित भएका थिए । ”

 

बारामा मृत्यु हुनेमा महागढीमाई नगरपालिका–७ का ६५ वर्षीया कोइलीदेवी, सोर्नागाउँपालिका–८ का ३५ वर्षीय तरिफ खान र पहिचान नखुलेका एक भारतीय नागरिक छन् ।

 

यहाँ मृत्यु हुनेमा प्रायः भारतीय मजदुर रहेका तथा उनीहरूको परिचय खुल्न नसकेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताउनुभयो । कलैया उपमहानगरपालिका–१२ स्थित इँट्टा उद्योगका धुवाँ फाल्ने चिम्नी भत्किँदा धेरै मजदुर घाइते भएको उहाँले जानकारी दिनुभयो ।

 

घाइतेमध्ये चारको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि वीरगन्ज पठाइएको बाराका मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले जानकारी दिनुभयो ।

 

राति हावासँगै आएको असिनापानीले जिल्लाको पुरैनिया, परशुरामपुर, भरवलिया, पतौरा, मझौलिया, तेलगाई लगायतका स्थानमा धेरै क्षति भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले जानकारी दिनुभयो । गोरखापत्रबाट