भागवण्डा नमिलेपछि कांग्रेस बैठक स्थगित

काठमाडौं, चैत २४ । शीर्ष नेताबीच कार्यसम्पादन समिति गठनमा भागवण्डा नमिलेपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित भएको छ । कार्यसम्पादन समिति गठनलगायतका एजेन्डासहित शनिबार केन्द्रीय बैठक आह्वान गरिएको थियो ।

 

कार्यसम्पादन समितिमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भागवण्डा मिले पनि अर्का नेता कृष्णप्रसाद सिटौलासँग भागवण्डाको कुरा नमिलेपछि कार्यसम्पादन समिति गठनमा सहमति हुन नसकेको हो । २९ सदस्यीय कार्यसम्पादन समितिमा पदाधिकारीसहित वरिष्ठताको आधारमा सदस्य रहने व्यवस्था छ ।

 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कार्यसम्पादन समिति गठनमा थप छलफल र सहमति गर्नुपर्ने भएकाले बैठक स्थगित भएको हो । अघिल्लो दिन कार्यसम्पादन समिति गठन गर्नेबारे सभापति देउवा, वरिष्ठ नेता पौडेल र सिटौलालगायत शीर्ष नेताबीच छलफल भएको थियो । भागवण्डामा सिटौला पक्ष असन्तुष्ट रहे पनि शनिबारसम्म मिलाएर कार्यसम्पादन समिति गठन गर्ने तयारी थियो ।

 

सभापति देउवाले दुई वर्षअघि नै कार्यसम्पादन समिति गठन गर्नुभएको थियो । त्यस बेला कार्यसम्पादन समितिमा वरिष्ठतालाई प्राथमिकता नदिएको भन्दै चर्को विरोध भएपछि भङ्ग गरिएको थियो । त्यस बेला कार्यसम्पादन समिति गठनप्रति सबैभन्दा बढी विरोध केन्द्रीय सदस्य डा। शेखर कोइरालाले गर्नुभएको थियो । उहाँले वरिष्ठको आधारमा राखिएको कार्यसम्पादन समितिका सदस्यहरुको लिस्टमा आफ्नो नाम नअटाएपछि सभापति देउवासँग वरिष्ठता मापनको जानकारी पनि माग्नुभएको थियो ।

 

कार्यसम्पादन समितिले केन्द्रीय कार्यसमितिको एउटा बैठक र अर्को बैठकको अन्तरमा केन्द्रीय कार्यसमितिले गर्ने काम गर्नेछ । केन्द्रीय कार्यसम्पादन समितिले आफ्नो कामको विवरण कार्यसमिति बैठकमा पेस गरी अनुमोदन गराउने, पार्टी केन्द्रीय कार्यालयअन्तर्गत रहेका सम्पूर्ण विभागको समीक्षा गर्ने र समयसमयमा संसदीय दलको कार्यसमिति, संसदीय दलका विषयमा समितिका संयोजकहरुसँग विचार विमर्श पनि गर्ने कार्य गर्नेछ । नेपाल समाचारपत्रमा खबर छ ।