कांग्रेसमा भागबन्डा : विभागमा पनि साठी–चालीस

काठमाडौँ, वैशाख ५ । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिपछि विभागसमेत साठी र चालिस प्रतिशतको भागबन्डाका आधारमा गठन गर्ने तयारी गरेको छ ।

सभापति शेरबहादुर देउवाले आन्तरिक शक्ति सन्तुलन मिलाउन २८ मध्ये वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई ११ वटा विभाग दिने प्रस्ताव गरेका छन् । पौडेल पक्षसँग सहमति जुटाउन देउवाले उपसभापति विमलेन्द्र निधिलाई जिम्मा दिएका छन् ।

पार्टीभित्र तेस्रो समूहको नेतृत्व गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई भनेआफ्नो हिस्साबाटै समेट्ने देउवाको तयारी छ । केन्द्रीय कार्यसम्पादन समितिमा ६०र४० भागबन्डा भएपछि सिटौलालाई कसले समेट्ने भन्ने विवाद थियो ।याे समाचार कान्तिपुर दैनिकबाट।

 

दुवै पक्षले एक–अर्कालाई देखाएपछि देउवा र पौडेल दुवैसँग सिटौला असन्तुष्ट छन् । उनको असन्तुष्टिपछि देउवाले केन्द्रीय कार्यसम्पादन समितिमा आफ्नै कोटाबाट समेट्ने जनाएका थिए । ‘केन्द्रीय कार्यसम्पादन समिति र विभागसँगै गठन गर्ने तयारी भइरहेको छ,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने, ‘पौडेल पक्षसँग सहमति जुट्नासाथ विभाग गठन हुन्छ ।’

 

महत्त्वपूर्ण विभागको बाँडफाँटमा भने सहमति भएको छैन । विधानमा संगठन, अन्तर्राष्ट्रिय सम्बन्ध, संवैधानिक कानुन तथा संसदीय मामिला, संघीय मामिला तथा स्थानीय तह, सूचना सञ्चार तथा प्रचार, पेसागत तथा बुद्धिजीवी, भाषा, साहित्य, कला तथासंस्कृति, शिक्षा विज्ञान तथा प्रविधि विभाग छन् ।

 

त्यस्तै गैरसरकारी संस्था तथा सामाजिक सेवा, अनुगमन, मूल्यांकन तथा अभिलेख, उद्योग तथा वाणिज्य, पर्यटन, कृषि तथा भूमिसुधार, युवा तथा खेलकुद, प्राकृतिक स्रोत, जल तथा ऊर्जा, शान्ति, सुरक्षा तथा प्रशासन, श्रमिक तथा ट्रेड युनियन, जनसम्पर्क समन्वय, वैदेशिक रोजगार तथा आप्रवासन, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप, स्वास्थ्य, वन, वातावरण तथा विपद् व्यवस्थापनलगायत छन् ।