आफैं सहायक केन्द्राध्यक्ष, आफैं परीक्षार्थी

बिर्तामोड, बैशाख १८ । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित लक्ष्मी माविका सहायक प्रधानाध्यापक घनश्याम डाँगीले जारी कक्षा १२ को परीक्षा दिने तयारी गरेको रहस्य खुलेको छ। जिल्ला प्रशासन कार्यालय झापामा गोप्य सूचना पुगेपछि प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुगमन गर्दा यस्तो रहस्य खुलेको हो।

 

सहायक प्रधानाध्यापक डाँगीले सो विद्यालयमा भइरहेको परीक्षामा अर्जुनधारास्थित शनिश्चरे माविको परीक्षार्थी भएर परीक्षा दिने तयारी गरेका थिए। आफुले अध्यापन गराउँदै आएको विद्यालयमा रहेको परीक्षा केन्द्रमै परीक्षा लेख्ने तयारी गरिरहेको सूचना पाएपछि प्रजिअ दाहाल परीक्षाको पहिलो दिन आइतबार परीक्षा केन्द्र पुगेर अनुगमन गरेका थिए।

 

परीक्षा केन्द्रका केन्द्राध्यक्ष विरेन्द्रप्रसाद गुप्तासँगको मिलेमतोमा आफन्तलाई परीक्षा लेखाउने तयारी गरिरहेको सूचनाका आधारमा अनुगमन गर्दा केन्द्राध्यक्षले डाँगीले फारम भरे पनि यो वर्ष परीक्षामा अनुपस्थित रहेको बताएका थिए। ‘अनुगमन गर्दा डाँगी परीक्षामा अनुपस्थित देखिए, अनुगमन गर्ने सूचना लिक भएर पनि हुनसक्छ। यसबारे अनुसन्धान गरिरहेका छौं’, दाहालले भने। उनको कक्षा १२ को सिम्बोल नं। २०४०१७३६ हो।

 

अघिल्लो वर्ष कक्षा ११ को परीक्षामा डाँगीले सोहि बिद्यालयबाट परीक्षा दिएको रहस्य पनि खुलेको छ। तर उनले परीक्षा दिएको बारे अन्य विद्यार्थीलाई पत्तै थिएन। न सो समय परीक्षा केन्द्रमा खटिएका निरिक्षकलाई नै। कक्षा ११ को परीक्षाफल प्रकाशित भएपछि २।९८ जीपीए ल्याएर प्रथम छात्रको रुपमा उनको नाम सार्वजनिक भएपछि विद्यार्थी र अभिभावक चकित बनेका थिए।

 

कक्षा ११ को परीक्षा भएको बेला उनी परीक्षा हुने विद्यालय लक्ष्मी माविकै सहायक केन्द्राध्यक्ष भएको समेत खुलेको छ। उनले अन्य कसैलाई परीक्षा लेख्न लगाएको हुनसक्ने अन्य विद्यार्थीको भनाइ छ। ‘हामी सबै विद्यार्थीलाई चिन्थ्यौं, परीक्षाफल सार्वजनिक भएपछि सबभन्दा बढि अंक ल्याउने छात्र भन्दै डाँगी सरको नाम आयो। तर परीक्षाका बेला सहायक केन्द्रध्यक्ष उहाँ नै हुनुहुन्थ्यो’, नाम नबताउने सर्तमा एक विद्यार्थीले भने।

 

कक्षा १२ को परीक्षा दिन पहिलेकै विद्यालयमा फारम भरेका शिक्षक डाँगीले परीक्षाको तयारी भइरहेकै बेला प्रमुख जिल्ला अधिकारीसहितको टोलिले अनुगमन गरेपछि यो वर्ष उनको परीक्षा सेटिङ तुहिएको प्रजिअ दाहालले बताए। यो वर्ष श्रीमतिलाई कोठामा प्रश्नपत्र पुर्‍याइदिने र समय सकिएपछि विद्यालय पुर्‍याउने तयारी गरेको स्थानीयले सूचना दिए पनि सो विषयमा अनुसन्धान भइरहेको प्रजिअ दाहालले जानकारी दिए।

 

लक्ष्मी माविका प्रधानाध्यापक तथा केन्द्रका केन्द्राध्यक्ष विरेन्द्रप्रसाद गुप्ताले यस विषयमा जानकारी लिन खोज्दा विद्यार्थी भर्ना अभियान चलेकाले १÷२ दिन बोल्न फुर्सद नभएको बताए। ‘मेरो चरित्र हत्या गर्न खोजिएको छ, यसबारे म कुरा गर्दिनँ’,उनले भने।अन्नपूर्णपोष्टमा समाचार छ। 

योग्यता छलेर शिक्षण

परीक्षामा विवादित बनेका शिक्षक डाँगीले आफ्नो योग्यता छलेर विद्यालयमा शिक्षण पेशा समेत गरिरहेका छन्। लक्ष्मी माविका सहायक प्रधानाध्यापक डाँगीले विद्यालयमा आफ्नो योग्यता प्लस टु उत्रिण लेखाएका छन्। उनी द्धितिय श्रेणीका स्थाइ शिक्षक हुन्। शिक्षाण पेशामा आवद्धता उनको शैक्षिक प्रमाणपत्र छानविन हुनुपर्ने विद्यार्थीको माग छ।