चीनको उच्चस्तरीय टोली नेपाल आउँदै

काठमाडौं,बैशाख २५। छिमेकी मुलुक चीनको गान्सु प्रान्तले नेपालको प्रदेश नं ३ सँग भगिनी साइनो गास्ने भएको छ। गान्सु प्रान्तको लान्झाउ महानगर र काठमाडौं महानगरपालिका (कामपा)बीच द्विपक्षीय सहयोगसम्बन्धी सम्झौता हुँदै छ। नेपालसँग गान्सु र लान्झाउ नगरको आर्थिक र व्यापारिक सम्बन्ध बढाउन गान्सु प्रान्तका प्रान्तपाल ताङ रेन्जजियान नेतृत्वको टोली आगामी साता नेपाल आउँदै छ।

यही अवसरमा प्रदेशसँग भगिनी सम्बन्ध गासिने र लान्झाउ–काठमाडौं महानगरबीच विविध सम्झौता हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। चीनको उत्तरपश्चिम भेगमा अवस्थित गान्सुको राजधानी लान्झाउ हो। आगामी सोमबार काठमाडौंमा नेपाल–चीन–गान्सुको आर्थिक तथा व्यापार प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया तय भएको छ। सोही कार्यक्रममा प्रदेशसँग भगिनी सम्बन्ध स्थापना सम्बन्धमा औपचारिकरूपमा हस्ताक्षर हुने बताइएको छ। कार्यक्रममा सहभागी हुन ताङको नेतृत्वमा लान्झाउ नगरका उपमेयरसहित करिब दुई दर्जन चिनियाँ अधिकारी आइतबार अपरा≈न काठमाडौं आउँदै छन्।

 

कामपा र चीनका लान्झाउ, सियान, ल्हासा, सेन्जेन, छेन्दु शहरसँग भगिनी सम्बन्ध स्थापना भइसकेको छ। कामपाले यसअघि विभिन्न मुलुकका १४ शहरसँग भगिनी सम्बन्ध गासिसकेको छ। थाइल्यान्डको बैंकक र अमेरिकाको बोल्डर शहरबीच यस्तो सम्बन्ध स्थापनाको प्रक्रिया अघि बढेको काठमाडौं महानगरले जनाएको छ। नेपालसँगको व्यापार सहजीकरणमा सघाउन गान्सुका प्रान्तपाल ताङ नेतृत्वको टोली ४ दिने नेपाल भ्रमणमा आउने भएको हो।

 

ताङ विगतमा चिनियाँ केन्द्रीय वित्तीय तथा आर्थिक मामिलासम्बन्धी आयोगको उपनिर्देशक रहनुभएको थियो। हाल सो आयोगको महासचिवमा चिनियाँ राष्ट्रपति सी जिन पिङ रहनुभएको छ। चीनले ३ वर्षअघि नेपाललाई लक्षित गरी लान्झाउ–सिगात्से–काठमाडौं अन्तर्राष्ट्रिय रेल सेवा आरम्भ गरिसकेको अवस्थामा ताङको नेपाल भ्रमणले द्विपक्षीय व्यापारमा ठूलो टेवा पुग्ने विज्ञहरू बताउँछन्।

 

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा चीनसँग भएको पारवहन सम्झौतापश्चात् चीनले २०७३ वैशाख ३० देखि सिगात्सेसम्मको रेल सेवा शुरू गरेको थियो। चिनियाँ रेल्वे कर्पोरेसनका अनुसार लान्झाउ–सिगात्सेको दूरी २ हजार ४ सय ३१ किलोमिटर छ।

 

सिगात्सेबाट ५ सय ६४ किमी दूरी तय गरेपछि मालवाहक सवारी केरुङ आइपुग्छन् भने केरुङबाट १ सय ६० किमि दूरी पार गर्दै मालवाहक कन्टेनर काठमाडौं आइपुग्छन्। लान्झाउ–सिगात्से रेल सेवाको अधिकतम उपयोग गर्ने उपाय सुझाउन र व्यापार सहजीकरणमा प्रान्तपाल ताङको भ्रमणले सघाउने नेपाली अधिकारीहरूको विश्वास छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।