नाकामा तरकारी सड्यो बजारमा भाउ बढ्यो

काठमाडाै,असार १३। विषादी परीक्षण नगरेका तरकारी र फलफूल आयातमा सरकारले रोक लगाएको छ । तर, नाकामा न प्रयोगशाला छन् न कर्मचारी । पछिल्लो एक सातामा तरकारी र फलफूल बोकेका १०३ ट्रक विभिन्न नाकामा रोकिएका छन् ।

 

तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेका अनुसार सुनौली–भैरहवा नाकामा ५८, काँकडभिट्टामा १९, वीरगन्जमा १४, कैलाली र विराटनगरमा ६–६ ट्रक रोकिएका छन् । ‘विषादी परीक्षणका लागि भनेर भन्सार पास गरेका तरकारी र फलफूलका ट्रक रोकिएका छन्,’ उनले भने, ‘सरकारले पूर्वतयारीविनै विषादी परीक्षण गरेर मात्र तरकारी आयात गर्ने निर्णय गर्दा अहिले व्यवसायी मर्कामा परेका छन् । अहिलेको प्रचण्ड गर्मीमा ट्रकभित्र तीन–चार दिनसम्म खाँदिएको तरकारी र फलफूल आधी त कुहिएरै नास हुन्छ ।’

 

नाकामा रहेका तरकारीका केही कन्टेर भारततिरै फर्किएको उनले बताए । ‘नेपालपट्टि ल्याएर पनि जाँचपास गरी समयमै हिँडाउन समस्या हुने बुझेपछि भारतीय सीमावर्ती क्षेत्रबाटै कन्टेनर फर्काइएको छ,’ उनले भने, ‘फर्काइएका कन्टेनर व्यवसायीले भारतीय बजारमै घाटा खाएर बिक्री गरेका छन् ।’ उनले भैरहवा, वीरगन्ज र काँकडभिट्टा नाकाबाट भित्रिन लागेका कन्टेनर फर्काएर करिब चार सय टन तरकारी भारतमै बिक्री गरेको बताए । व्यवसायीका अनुसार हाल भारतबाट आलु, प्याज, कागती, ठूलो गोलभेँडा, तितेकरेला, भेँडेखुर्सानी, काँक्रो, परबललगायत तरकारी आयात भएका छन् ।

 

भैरहवा :भारतबाट तरकारी तथा फलफूल आयात नीति कडा बनाएको सरकारले नाका क्षेत्रमा प्रयोगशालाको व्यवस्था नगर्दा व्यवसायीका ट्रक बेलहिया नाकामा तीन दिनसम्म रोकिन बाध्य भएका छन् । चर्को गर्मीमा तीन दिनसम्म रहँदा ट्रकभित्रै फलफूल र तरकारी कुहिने गरेका छन् ।

 

साढे दुई वर्षअघि बुटवलमा स्थापना भएको विषादी विशेष द्रुत परीक्षण प्रयोगशाला आठ महिनादेखि बन्द छ । समायोजनका क्रममा प्रयोगशालाका कर्मचारी अन्यत्र सरुवा भएपछि प्रयोगशाला बन्द भएको हो । ‘एकजना कर्मचारी पहिल्यै सरुवा हुनुभएको हो, पछि म एक्लैले चलाएको थिएँ, तर कर्मचारी समायोजनका क्रममा मलाई पनि गोगीकुटीस्थित प्रदेश ५ को कृषि निर्देशनालयमा सरुवा गरियो,’ प्रयोगशालाका पूर्वकर्मचारी रामबहादुर खातीले भने, ‘त्यसपछि ल्याब बन्द छ ।’

 

अहिले व्यवसायी तरकारी र फलफूलको नमुना लिएर परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाडौं जान बाध्य छन् । सरकारले ल्याएको नियम सही भए पनि प्रयोगशाला अभावमा व्यवसायी अन्यायमा परेको लुम्बिनी तरकारी तथा फलफूल व्यवसायी संघ बुटवलका अध्यक्ष केशव कुँवरको गुनासो छ । काठमाडौंमा ल्याब परीक्षण गरेर फर्किंदा तीन दिन लाग्ने र यस अवधिमा फलफूल नै कुहिने उनले बताए । ‘एक–दुई कर्मचारी व्यवस्था गरेर भएकै ल्याब सञ्चालन नगर्दा व्यवसायीको दैनिक एक करोडभन्दा बढी नोक्सान हुने गरेको छ,’ कुँवरले भने, ‘तीन दिनसम्म सडकमै रहने ट्रकका २५–३५ प्रतिशत तरकारी बिग्रिन्छ ।’

 

त्यसो त बेलहियामा पनि प्रयोगशाला छ । तर, त्यहाँ कृषिजन्य सामग्रीमा रोग तथा कीरा भए–नभएको मात्रै परीक्षण हुने बेलहिया प्लान्ट क्वारेन्टाइनका कार्यालय प्रमुख विष्णुप्रसाद काफ्लेले बताए । बेलहिया नाका हुँदै भित्रिने तरकारी तथा फलफूल पोखरा, काठमाडौं, बुटवललगायत बजारमा खपत हुन्छ ।

 

नेपालगन्ज :भारतबाट तरकारी र फलफूल बोकेर दैनिक ५०–६० ट्रक नेपालगन्ज नाकामा आइपुग्छन् । तर, विषादी परीक्षण गर्न प्रयोगशालामा एकजना मात्रै कर्मचारी छन्, त्यो पनि दुई कार्यालयको जिम्मेवारीमा । कृषि ज्ञान केन्द्र नेपालगन्जका बाली संरक्षण अधिकृतसमेत रहेका प्रयोगशाला इकाइ प्रमुख सकिल अहमद दुईतिरको जिम्मेवारी पूरा गरेर दैनिक ६० ट्रक तरकारी तथा फलफूलको विषादी परीक्षण गर्न नसक्ने बताउँछन् । परीक्षणका लागि लाइनमा बस्दा नेपालगन्ज नाकामा पनि ट्रकहरू एक दिन नाकामै रोकिनुपर्छ । प्रयोगशालामा चारजना कर्मचारी आवश्यक पर्ने सकिलको भनाइ छ । ‘सधैँ यसरी काम गर्न सकिँदैन,’ उनले भने, ‘थप कर्मचारी व्यवस्था नभए म पनि काम बन्द गरेर हिँड्छु ।’

 

वीरगन्ज : भारतबाट तरकारी तथा फलफूल भित्रिने प्रमुख नाकामध्ये एक हो वीरगन्ज । दैनिक सय ट्रक तरकारीरफलफूल भित्रिने गरेको वीरगन्जमा अहिले ३०–४० ट्रक मात्रै भित्रिने गरेको छ । कारण उही हो, यहाँ पनि विषादी परीक्षण गर्ने प्रयोगशाला छैन, सर्लाही पुग्नुपर्छ । वीरगन्ज भन्सार भएर भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण सर्लाहीमा रहेको विषादी अन्वेषण द्रुत विश्लेषण प्रयोगशालामा भइरहेको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र वीरगन्जका वरिष्ठ बाली संरक्षण अधिकृत गणेशप्रसाद यादवले बताए ।

 

कञ्चनपुर:कञ्चनपुरको गड्डाचौकी नाका भएर भित्रिने भारतीय फलफूल तथा तरकारीको विषादी जाँच गर्ने प्रयोगशाला नहुँदा एक सातादेखि आयात नै ठप्प भएको छ । सरकारले विषादी परीक्षण नगरी नभित्र्याउन भनेको, तर प्रयोगशाला नै नभएकाले आयातमा पूर्ण रोक लगाइएको हो ।

 

भन्सारले ल्याब परीक्षण नगरेका तरकारी र फलफूल आयातमा रोक लगाउने भनेपछि व्यवसायीले भारतबाट ४ असारदेखि नै तरकारी ल्याएनन् । तर, व्यवसाय नै चौपट हुने चिन्ताले ११ असारदेखि पुनः तरकारी ल्याउन थालेका छन् । तर, भन्सार कार्यालयपरिसर वा नजिकै विषादी परीक्षण गर्ने ल्याब नहुँदा समस्या भएको छ । ती तरकारीका ट्रक भन्सारमै थन्किएका छन् ।

 

‘११ असारमा दिउँसो ४ बजेतिर भारतबाट तरकारी भन्सारमा पुर्‍याएँ, तर ल्याब परीक्षण भएन, बिहीबार साँझसम्म तरकारी कुहिले अवस्थामा पुगेको छ,’ महेन्द्रनगरका तरकारी व्यवसायी नरेन्द्र साउदले भने ।

 

कैलालीको अत्तरियामा भने कृषि प्रयोगशाला (ल्याब) छ । यो गड्डाचौकीबाट ५० किलोमिटरको दूरीमा पर्छ । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भीमप्रसाद अधिकारीले भारतबाट आउने तरकारीको विषादी परीक्षणका लागि सिलबन्दी गरेर अत्तरिया प्रयोगशालामा नमुना पठाउन थालेबो बताए । उनका अनुसार बुधबारदेखि मात्रै नमुना पठाउन थालेको बताए ।

 

कञ्चनपुर मन्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले भारतबाट आउने तरकारी बन्द भए पनि स्थानीय उत्पादनले खपत गर्न सकिने बताए । उनले विगतको तुलनामा जिल्ला तरकारी उत्पादन बढेको दाबी गर्दै ७० प्रतिशत आत्मनिर्भर भएको बताए ।समाचार नयाँपत्रिका दैनिकमा छ।  

 

महोत्तरी : कञ्चनपुरको गड्डाचौकी नाका भएर भित्रिने भारतीय फलफूल तथा तरकारीको विषादी जाँच गर्ने प्रयोगशाला नहुँदा एक सातादेखि आयात नै ठप्प भएको छ । सरकारले विषादी परीक्षण नगरी नभित्र्याउन भनेको, तर प्रयोगशाला नै नभएकाले आयातमा पूर्ण रोक लगाइएको हो ।

 

भन्सारले ल्याब परीक्षण नगरेका तरकारी र फलफूल आयातमा रोक लगाउने भनेपछि व्यवसायीले भारतबाट ४ असारदेखि नै तरकारी ल्याएनन् । तर, व्यवसाय नै चौपट हुने चिन्ताले ११ असारदेखि पुनः तरकारी ल्याउन थालेका छन् । तर, भन्सार कार्यालयपरिसर वा नजिकै विषादी परीक्षण गर्ने ल्याब नहुँदा समस्या भएको छ । ती तरकारीका ट्रक भन्सारमै थन्किएका छन् ।

 

विराटनगर : भारतसँग जोडिएको पूर्वीनाका विराटनगरमा पनि विषादी जाँच गर्ने प्रयोगशाला छैन । विराटनगर भन्सार हुँदै भित्रिने तरकारी तथा फलफूलको नमुना संकलन गरेर विषादी जाँच्न झापाको बिर्तामोड पठाइने गरिएको छ ।

 

बिर्तामोडबाट आएको परीक्षण प्रतिवेदनका आधारमा मात्रै ती सामान भित्रिन दिने गरेको भन्सार प्रमुख मिमांश अधिकारीले बताए । विराटनगर भन्सार एजेन्ट संघका उपाध्यक्ष नवलप्रसाद उपाध्यायले २ असारमा सरकारको परिपत्रपछि विषादी परीक्षणमा कडाइ भयो, तर प्रयोगशाला अभावमा झन्झट भएकाले व्यवसायीले सास्ती पाएको बताए । विराटनगरबाहेक असपासका विभिन्न नाकाबाट विनाचेकजाँच तरकारी, फलफूललगायत सामग्री भित्रिने क्रम भने रोकिएको छ ।

चेकजाँच हुनुपर्छ, तर नाकामै

कलाधर पन्थी, अध्यक्ष, बुटवल कृषिउपज थोक बजार

आयात गरिने तरकारी र फलफूलको विषादी जाँच अनिवार्य गर्नु राम्रो हो । यस्तो परीक्षण १० वर्ष पहिलेदेखि गरेको भए उपभोक्ताको स्वास्थ्यमा धेरै फाइदा हुन्थ्यो । ढिलै भए पनि सुरु भएको छ । तर, अहिले पूर्वाधार र कर्मचारीको व्यवस्थाविना नै विषादी परीक्षण गर्ने काम भइरहेको छ । परीक्षण गर्न स्याम्पल बोकेर काठमाडौं लैजानुपर्छ । त्यसका लागि प्रतिकिलो ८४ पैसा बढी मूल्य तिर्नुपर्ने अवस्था छ । अझ तीन दिनसम्म ट्रक होल्ड गर्दा व्यवसायीको खर्च बढ्छ, आधाजसो तरकारी कुहिन्छ । त्यसको असुल पनि व्यापारीले उपभोक्ताबाटै गर्ने हुन् । त्यसैले चेकजाँच अनिवार्य गर्नुपर्छ, तर नाकामै ।

तरकारी र फलफूल साढे ४३ अर्बको आयात :एक अर्ब २२ करोडको निर्यात

चालू आर्थिक वर्षको ११ महिनामा नेपालले साढे ४३ अर्बबराबरको तरकारी र फलफूल आयात गरेको छ । भन्सार विभागका अनुसार गत साउनदेखि जेठ मसान्तसम्म २६ अर्ब ४६ करोड ७५ लाखको तरकारी र १७ अर्ब तीन करोड ९६ लाखको फलफूल आयात भएको हो । यस अवधिमा पाँच अर्ब ४६ करोड ३० लाखको आलु, चार अर्ब ८२ करोड ८३ लाखको प्याज, ३६ करोड ३६ लाखको लसुन, ५० लाख ८८ हजारको काउली, सात करोड ९२ लाखको कोसा भएको तरकारी आयात भएको छ । त्यस्तै, एक अर्ब ६७ करोडको केरा, एक अर्ब १२ करोडको सुन्तला, एक अर्ब ३५ करोडको अंगुर, चार अर्ब ७९ करोडको स्याउ, ३२ करोड ९५ लाखको खरबुजा आयात भएको विभागको तथ्यांक छ ।

 

११ महिनाको अवधिमा नेपालले एक अर्ब २२ करोड ९९ लाखबराबरको तरकारी तथा फलफूल निर्यात गरेको छ । एक अर्ब २२ करोड पाँच लाखको तरकारी र ७९ लाखको फलफूल निर्यात भएको भन्सार विभागको तथ्यांक छ । नेपालले पाँच करोड ७६ लाखको बन्दा, ११ लाखको आलु, २१ लाखको प्याज, ५९ लाखको गोलभेँडा, ८७ लाखको च्याउ निर्यात गरेको छ । त्यस्तै, फलफूलतर्फ १२ लाखको रसिला फलफूल, एक लाख ४९ हजारको आँप र अम्बा निर्यात भएको छ । सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशन गर्दै निकासी–पैठारीसम्बन्धी नयाँ नियम लागू गरेको छ ।