धर्तीमाता’बताउने कुँवरलाई सात दिन थुनामा राख्न आदेश

काठमाडौं,असार १५। सिंहदरबारको ‘आँखा’अगाडि, नेपाली सेनाको मुख्यालयसँगै जोडिएको भद्रकाली मन्दिरमा एक युवतीमाथि बर्बर आक्रमण गर्ने धर्तीमाता पक्राउ परेपछि अनुसन्धानको लागि म्याद थप भएको छ। महिलाविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप भएको हो।

 

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार शुक्रबार बिहान विशेष सूचनाको आधारमा बालाजुबाट पक्राउ परेकी आफूलाई धार्तीमाता बताउने विष्णु कुँवरलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि सात दिनको म्याद थपिएको हो । उनले भने,‘ जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट अनुसन्धानको लागि म्याद गराइएको हो।’

 

कानुनले सार्वजनिकस्थलमा हातपात गर्नुलाई अपराध मानेको छ। मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा ११८ मा कसैले सार्वजनिक स्थान वा प्रवेश गर्ने कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रूपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भन्ने उल्लेख छ। सोही दफामा त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

 

त्यस्तै अपराध संहिताले अपमानजनक वा अमानवीय व्यवहार गरी बोक्साबोक्सीको आरोप लगाउने कार्यलाई पनि दण्डनीय अपराध मानेको छ। उक्त ऐनको दफा १६८ अनुसार बोक्सीको आरोपमा अपमानजनक र अमानवीय व्यवहार गर्नेलाई पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ।

 

कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडाबापत मानसिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था रहेको छ। प्रहरीले यही प्रावधानलाई टेकेर खोजबिन र अनुसन्धान प्रक्रिया अघि बढाएको डिएसपी बोगटीको भनाइ छ।

 

डिएसपी बोगटीका अनुसार कुँवरले आफूलाई देउता चढेकाले ‘त्यस्तो’ गरेको बयान दिएकी छिन्। ‘देउताले अह्राएअनुसार काम गर्ने हो,’ कुँवरलाई उद्धृत गर्दैै डिएसपी बोगटीले भने, ‘देउता चढेपछि म के गर्छु, के भन्छु मलाई नै थाहा हुँदैन। जे गरें देउता चढेपछि गरें।’ कुँवरले देउता चढेपछि खुकुरी पनि नचाउने गरेको बयान दिएको बोगटीले बताए।

 

माता चढेका बेला आफूबाट युवतीमाथि हातपात हुन गएको भन्दै उनले प्रहरीसमक्ष माफी मागेकी छन्। हिरासतमा पनि माता चढेको भन्दै कुँंवर काम्ने र उफ्रिने गरेकाले थप बयान लिन समस्या भएको जानकारी बोगटीले दिए। यसै कारण प्रहरीले उनलाई सार्वजनिक गर्न सकेको छैन।

 

‘धर्ती माता’ बताउने महिलाविरुद्ध अभद्र व्यवहारको कसुरसम्बन्धी मुद्दामा म्याद थप गरेको छ । शुक्रबार बिहान बालाजुबाट पक्राउ परेकी विष्णु कुँवरलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि म्याद थपिएको हो ।

 

कुँवरमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ७ दिनको म्याद दिएको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार बताएको छ ।उनले असार पहिलो साता नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा धर्ती माता बताउँदै युवतीलाई यातना दिएकी थिइन् ।

 

सामाजिक सञ्जालमा उनले गालीगलौज गर्दै कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरी प्रशासनले चासो देखाएको थियो । काठमाडौं प्रहरीको मुद्दा शाखाका एक अनुसन्धान अधिकृतका अनुसार पीडितले किटानी जाहेरी दिएको भए मुलुकी अपराध संहितामा भएको व्यवस्था बोक्सी आरोपमा अपमानजन्य व्यवहार गरेको कसुरमा मुद्दा चल्न सक्थ्यो ।

 

जुन अभियोग प्रमाणित भए ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र क्षतिपूर्ति तिर्नुपर्ने हुनसक्थ्यो । तर, भिडियोमा देखिएकी पीडित महिला नभेटिएपछि प्रहरीले अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा चलाएको हो ।

 

अभद्र व्यवहारको कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा दश हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ । प्रहरीसँग बयान दिने क्रममा कुँवरले कुटपिट गर्नु गल्ती भएको स्वीकारेकी छन् । तर, आफूमा शक्ति भएको विषयचाहिँ बताउन छाडेकी छैनन्।

 

उनले भनेकी छन्,मलाई साढे २ वर्षदेखि नै देउता चढ्न थालेको हो। ममा शक्ति आएपछि के गर्छु, थाहै हुँदैन ।प्रहरीले पक्राउ गरेर आफूलाई दुःख दिएको समेत उनले दाबी गरेकी छन् ।