मिटर ब्याज आतंक :ऋणकै कारण आत्महत्या

काठमाडौं, भदौ १५ । सार्लाहीका एक व्यक्तिले थोरै ऋण दिएर धेरै लिएको कागज गराई सोझासाझा स्थानीयबाट करोडौँं रकम ठगी गरेको पाइएको छ ।

 

तत्कालीन पिपरा गाविस स्थायी घर भई हाल मलगंवा नगरपालिका बस्ने श्यामकुष्ण साह कलवारले कम्तीमा ७५ हजार रुपैयाँसम्म ऋण दिएर ऋणीकै परिवारका सदस्यहरुलाई झुक्याएर, धम्क्याएर ९० लाखसम्मको कागजमा सहीछाप गराई पछि जबर्जस्ती असुलेर ठगी गरेको र नतिर्नेलाई मुद्दा हालेर दुःख दिएको भन्दै पीडितहरु न्याय माग्दै काठमाडौं आइपुगेका छन् ।

 

स्थानीय ३ सय परिवारलाई ऋण दिन १ करोडजति लगानी गरेका कलवारले १ करोड २० लाख रुपैयाँ उठाइसकेका छन् । कागज गरिएअनुसार मिटर ब्याजको रकम ९ करोडबराबर पुगिसकेको छ । ऋण तिर्न नसक्दा गाउँ नै विस्थापित हुने अवस्था आएको पीडितहरु बताउँछन् ।

 

उनीहरुका अनुसार सोही ऋणकै कारण लालबन्दी नगरपालिका–३ की दुर्गादेवी चौधरीले आत्महत्या नै गरिन् । राजवीर चौधरी र सावित्री कापर पनि सोही कारणले मृत्युवरण गर्न बाध्य भए । पीडित परिवार समस्या बोकेर काठमाडौँ आएपछि सत्तारुढ दल नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ उनीहरुलाई न्याय दिलाउन सक्रिय भएका छन् । नागरिक दैनिकले खबर छापेको छ ।