निर्माण हुँदै बारपाक भूकम्प स्मृति स्तम्भ

काठमाडौँ, भदौ ३० गते । चार वर्षअघि वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी जीवन गुमाएकाहरूको स्मरणका लागि गोरखाको बारपाकमा बन्दै गरेको स्तम्भ निर्माण लगभग आधा सकिएको छ ।

 

‘बारपाक भूकम्प स्मृति स्तम्भ’ नाम दिइएको यस स्मारकको निर्माण सोचेअनुसार अगाडि नबढे पनि अहिलेसम्म ५० प्रतिशत निर्माण पूरा भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

 

पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ, गोरखाका प्रमुख सुनिता श्रेष्ठले राष्ट्रले भोगेको भूकम्पको सो दुःखद घडी र भूकम्पमा ज्यान गुमाउनेको सम्झनामा स्तम्भ बन्न लागेको बताउनुभयो । उहाँले भूकम्पको केन्द्रबिन्दु रहेको बारपाकमा बन्दै गरेको भूकम्प स्मृति स्तम्भको निर्माण ५० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिनुभयो । सो ठाउँमा भूकम्प स्मृति स्तम्भसहितको भूकम्प स्मारक पार्कसमेत निर्माण गर्न लागिएको छ । स्तम्भका खम्बाहरू उठाई ‘स्लोप’ ढलानको कार्य सम्पन्न भइसकेको जनाइएको छ । उहाँले स्तम्भ तथा पार्क निर्माणका लागि अहिले ‘ल्यान्ड डेभलपमेन्ट’को काम भइरहेको बताउनुभयो । अहिले सो स्मृति स्तम्भसम्म पुग्न पहुँच मार्ग निर्माण भइरहेको छ । बाटोमा कल्भर्ट निर्माणसमेत गर्नुपर्ने भएकाले केही ढिलाइ भएको उहाँको भनाइ छ ।

 

त्यसैगरी भूकम्प स्मृति स्मारिका, क्यान्टिन, टिकेट काउन्टर, पार्किङ क्षेत्र, शौचालयलगायतका अत्यावश्यक भौतिक संरचनाहको निर्माण पनि सँगसँगै भइरहेको छ । आयोजना प्रमुख श्रेष्ठका अनुसार अहिलेसम्म आयोजनाको वित्तीय आधारमा भने ३८ प्रतिशत प्रगति भएको छ । भूकम्पबाट मुख्य रूपले प्रभावित १४ वटा जिल्लाको सम्झना गर्ने किसिमले १४ वटा खम्बासहितको स्मृति स्तम्भ निर्माण हुन लागेको बताउदै उहाँले खम्बामा मृतकहरूको नामसमेत समावेश गरिने छ ।

 

भूकम्पबाट भएको क्षति सम्बन्धित जिल्लाको मात्र नभई सिङ्गो मुलुककै दुःखदायी र पीडाको घडी हो भन्दै ती १४ वटा खम्बा जोडाएर त्यसमाथि पृथ्वीको नक्सासमेत तयार गरिने श्रेष्ठले जानकारी दिनुभयो । पृथ्वीको नक्सामा भूकम्प गएको मिति र समयसमेत अङ्कित गरिने छ ।

/>
यस वर्षभित्र निर्माण सम्पन्न गरी २०७७ सालको भूकम्प दिवसका दिन यो स्तम्भ र पार्क उद्घाटन गर्ने लक्ष्यसहित काम अगाडि बढाइएको आयोजना प्रमुख श्रेष्ठको भनाइ छ । सम्झौताअनुसार उक्त स्तम्भ र पार्कको निर्माण अवधि करिब आठ महिना बाँकी छ । तीस महिनाभित्र सम्पन्न गर्ने गरी सो भूकम्प स्मृति स्तम्भ तथा पार्क निर्माणका लागि २०७४ मङ्सिर १४ गते स्वच्छन्द÷होम निर्माण (जेभी)सँग सम्झौता भएको थियो ।

 

करिब १३ करोड सात लाख रुपियाँको लागतमा निर्माण कार्य भइरहेको छ । यस स्तम्भ र पार्कको डिजाइन सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले तयार पारेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प गएको एक वर्ष पुगेको दिन २०७३ वैशाख १२ गते प्रस्तावित सो पार्क र स्तम्भको शिलान्यास गर्नुभएको थियो ।गाेरखापत्रदैनिकमा खबर छ।