सरकारले नै स्वच्छ मासुको पोस्टरमा गाईको तस्वीर छापेपछि

पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै हालै एउटा पोस्टर सार्वजनिक गर्‍यो । ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त पोस्टर विवादास्पद बन्यो ।

 

उक्त पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको समेत तस्वीर समावेश छ । मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएपछि विवाद भएको हो ।

 

पोस्टरका अन्य तस्वीरहरुमा पनि विचार पुर्‍याइएको छैन । स्वच्छ मासु भनिएको पोस्‍टरमा पाठाले दूध खाइरहेको बाख्राको तस्वीर पनि राखिएको छ ।

 

विभागका प्रवक्ता डा.चन्द्र ढकालले जनचेतनाको लागि पोस्टर डिजाइन गरिएको बताए । ‘कुनै गलत नियत राखेर यो काम गरिएको होइन,,’ उनले भने ।

 

यस सम्वन्धमा मंगलबार बिहान बसेको बैठकमा समेत छलफल भएको छ । बधशाला र मासु पसलमा वितरण गर्न बनाइएको ती पोष्टरबाट गाईको तस्वीर हटाउने गरी निर्णय भएको ढकालले बताए ।विभागले हाल बजारमा पठाएको पोस्टर संकलन गरिरहेको छ ।