आफ्नै देशको रोजगारीले पुग्ने दिन कहिले आउला

नेपालगञ्ज, मङ्सिर ११। चाडपर्व सकिएलगत्तै नेपालबाट रोजगारीका लागि दैनिक सयौँ नेपाली भारत जाने क्रम फेरि सुरु भएको छ । कर्णाली प्रदेश र प्रदेश ५ का पहाडी र तराई जिल्लाबाट आएर नेपालगञ्ज हुँदै भारत पस्ने नेपालीको हरेक दिन ओइरो लाग्दै आएको छ ।

सीमा नाकामा रहेको प्रहरीका अनुसार कर्णाली प्रदेश र प्रदेश ५ का पहाडी र तराई भेगका सयौँ युवा कामका लागि भारतका विभिन्न सहर जाने क्रम बढेको छ ।

खेतीपाती र दशैँ तिहारजस्ता ठूला चाडपर्व सकेपछि गाउँमा केही काम नहुने भएकाले आफ्नो वर्षभरिको खर्चको जोहो गर्न हजारौँ नेपाली युवा भारत जाने गरेका छन् । चाडपर्व मनाउन आएका पनि फेरि खर्च जुटाउन मुग्लान जान थालेका हुन् ।

नेपाल–भारत नाकामा रहेको जमुनाह प्रहरी चौकीका अनुसार जमुनाह नाका हुँदै अहिले दैनिक पाँच सयदेखि आठ सयको हाराहारीमा नेपाली भारत जाने गरेका छन् ।

नेपालगञ्जको रुपैडिहा नाका भएर भारत मजदुरी गर्न जानेहरूमा प्रदेश ५ का दाङ, बाँके, बर्दिया, रुकुम र कर्णाली प्रदेशका सुर्खेत, दैलेख, सल्यान, रोल्पा, कालीकोट, जुम्ला जिल्लाबाट बढी मात्रामा रहेको जमुनाह प्रहरीले जनाएको छ ।

मजदुरीका लागि अधिकांश नेपाली भारतको गढवाल, सिमला, चण्डीगढ, दिल्ली, हरिद्वारलगायतका स्थानमा जाने गरेका छन् ।
आफ्नो देशमा काम नपाएर बालबालिकाको पढाइलेखाइको चिन्तासँगै अन्य खर्चको जोहो गर्न बर्सेनि भारत जानु परेको भारतको सिमला जाने बसमा भेटिएका सल्यानका रवीन्द्र शाहीले बताउनुभयो । उहाँले भारतमा जति पनि काम पाइने गरेकाले उता जानुको विकल्प नभएको पनि बताउनुभयो ।

कालीकोटका जीवन रावलले आफ्नै देशमा काम पाएको भए अरूको देशमा गएर रगत पसिना बगाउनु नपर्ने थियो भन्नुभयो । आफ्नै देशको रोजगारीले पुग्ने दिन कहिले आउला भनेर आफूजस्ता हजारौँ युवाले प्रतीक्षा गरिरहेको पनि रावलले बताउनुभयो ।

देहरादुन जान लागेका सुर्खेत रामघाटका राजन डाँगीले आफूहरू भारत नजाने हो भने बाँच्नै समस्या हुने र खर्च टार्नै नसकिने समस्या आउने गरेको बताउनुभयो ।

पश्चिम नेपालका सयौँ मानिस चाडपर्व सकिएपछि कात्तिक सुरुदेखि नै भारततर्फ मजदुरी गर्न जाने गरेकाले नेपालमै रोजगारीको व्यवस्था मिलाउनुपर्ने मागलाई अधिकांश युवाले अघि सारेका छन् । यसरी दैनिक सयौँको सङ्ख्यामा भइरहेको युवाको भारत पलायन रोक्न देशमा बढीभन्दा बढी रोजगारी सिर्जना गर्नुपर्ने नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष नन्दलाल वैश्यले यही नेपाली जनशक्तिलाई आफ्नै देशमा रोकेर काम र माम दिन सकेको भए जनता र देश दुवैको भलो हुने बतउनुभयो ।यो समाचार गोरखापत्रमा खबर छ।