नेपालीको औसत आयु बढ्यो, अब साढे ७० वर्ष

काठमाडौं, मंसिर २५ । मानव विकास सूचकांकमा नेपाल १४७औं स्थानमा आउन सफल भएको छ । नेपाल गत वर्षभन्दा दुई स्थान माथि उक्लन सफल भएको हो । गत वर्ष नेपाल १ सय ४९औं स्थानमा रहेको थियो भने यसको अघिल्लो वर्ष १ सय ४८औं स्थानमा रहेको थियो ।

 

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ९यूएनडीपी०ले मंगलबार सार्वजनिक गरेको विश्व मानव विकास प्रतिवेदन–२०१९ ले नेपालले बर्सेनि आफ्नो अवस्था सुधार गर्दै लगेको औल्याएको छ । प्रतिवेदनअनुसार नेपालको स्थिति अफ्रिकी मुलुक केन्याको समान रहेको छ ।

 

नेपालले सन् १९९० देखि २०१८ सम्म औसत भ्यालु क्रमशः वृद्धि गरिरहेको छ । खासगरी प्रतिव्यक्ति आय, शिक्षाको अवस्था र औसत आयुलाई आधार मानेर मानव विकास सूचकांक निकाल्ने गरिन्छ । यसमा मुलुकले गरिबी निवारण, भोकमरीबाट उम्कन गरेका प्रयास र खतरनाक रोगबाट मुक्त हुन गरेका प्रयासलाई अध्ययनमा राखिएको हुन्छ । शिक्षा, स्वास्थ्य एंव रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १३० .५ प्रतिशतले वृद्धि भएको प्रतिवेदनले औंल्याएको छ ।

 

मानव विकास सूचकांकका आधारमा नेपाल मध्यमस्तरको देशका रूपमा रहेको छ । प्रतिवेदनमा विश्वभरका देशलाई १ सय ८९ स्थानसम्म वर्गीकरण गरिएको छ । त्यसमध्ये नेपाल अतिकम मानव विकास सूचकांक भएका मुलुकभन्दा एक कदम मात्र माथि छ । सूचीअनुसार १ सय ५३औं स्थानसम्म रहेका मुलुकलाई मध्यमस्तर मानिएको छ भने त्योभन्दा तल रहेका मुलुक कमजोर मानव विकास भएका छन् । १ सय ५३औं स्थानमा सोलोमन आइल्यान्ड रहेको छ । मानव विकास सूचकांकमा सबैभन्दा अग्रस्थानमा भने नर्वे रहेको छ । स्वीट्जरल्यान्ड, आयरल्यान्ड, जर्मनी, हङकङ, अस्ट्रेलिया, आइसल्यान्ड, स्विडेन र सिंगापुर पहिलो १० नम्बरमा रहेका छन् ।

 

नेपालको मानव विकास सूचकांक मूल्य २०१८ का लागि ०.५७९ रहेको छ । यस मूल्यले मध्यम मानव विकास सूचकांक श्रेणीमा राखिदिएको छ । प्रतिवेदनअनुसार सन् १९९० देखि २०१८ सम्म नेपालको मानव विकास सूचकांक औसतमा ०.५२ प्रतिशतले बढेको छ । नेपालको मानव विकास सूचकांक मूल्य सन् १९९० देखि २०१८ सम्ममा न्यूनतम ०.३८० देखि ०.५७९ अर्थात् औसत ०.५२६ ले वृद्धि भएको छ । सन् १९९० देखि २०१८ सम्म नेपालको जन्मदरको औसत आयुमा १६.१ वर्षको वृद्धि भएको छ । विद्यालय शिक्षाको मध्यम वर्ष २.८ वर्षले वृद्धि भएको छ भने विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले वृद्धि भएको छ । नेपालको औसत आयु अहिले ७०.५ वर्ष पुगेको छ ।

 

यूएनडीपीले अति उच्च मानव विकास सूचकांक, उच्च मानव विकास सूचकांक, मध्यम मानव विकास सूचकांक र न्यून मानव विकास सूचकांकमा विभाजन गरेको छ । त्यसमध्ये नेपाल भने मध्यम मानव विकास सूचकांकमा समावेश छ ।

आजको राजधानी दैनिकमा खबर छ।