पूर्व एमाले ‘इन’, पूर्व माओवादी ‘आउट’

काठमाडौं, पुस १६ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाले त्रिविमा एकलौटी निर्णय गरेको भन्दै नेकपा समर्थित पूर्वमाओवादीका प्राध्यापकहरु अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दैलोमा पुग्ने तयारीमा छन् ।

 

उपकुलपति प्राडा बास्कोटाले केही दिनअघि प्राडा पेशल दाहाललाई रजिस्ट्रारमा नियुक्त गरेपछि आक्रोशित बनेका नेपाल राष्ट्रिय प्राध्यापक संगठनका पदाधिकारीले अधयक्ष प्रचण्ड भेट्ने तयारीमा पुगेका छन् ।

 

तत्कालीन एमालेको भागवण्डामा नियुक्त भएका उपकुलपति बास्कोटाले आधा दर्जन क्याम्पस र विभिन्न कार्यालयमा पूर्व एमाले निकट प्राध्यापकलाई नियुक्त गरेको उक्त संगठनको आरोप छ ।

 

उक्त संगठनले तत्कालीन नेकपाको भागवण्डामा परेका विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारसहितको पदाधिकारी आफ्नो भागमा पर्नुपर्ने अडान लिई प्रचण्डलाई भेट्ने तयारी गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ।