बिकास र समृद्धिमा पलाँता गाउँपालिकाले छलाङ मार्दै : साझा यातायात संञ्चालनमा

 कमल बुढा 

कालिकाेट। कालिकोट जिल्लाको पलाँता गाउँपालिका क्षेत्रमा साझा यातायात बस संचालनमा आएको छ। पलाँता गाउँपालिका र वरपरका क्षेत्रमा सञ्चालनमा रहेका निजी जिपले यहाँका यात्रुहरुसंग बढी भाडा असुल गरेर आजित बनाएपछी गाउँपालिकाले साझा यातायात सञ्चालनमा ल्याइएको हो।

 

जनयुद्ध दिवशको अवसर पारेर फागुन १ गतेको दिन ६ वटा जिपहरु सञ्चालनमा ल्याएको छ। गाउँपालिकाद्वारा सञ्चालित पलाता साझा यातायातले आजबाट औपचारिक रुपमा एउटै कलरका ६ वटा १२ जनासम्म यात्रुहरु बस्न मिल्ने जिप सञ्चालनमा ल्याएको हो।

 

साझा यातायातको औपचारिक रुपमा उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर बमले हरेक यात्रुलाई झर्कने फर्कने नभइकन मुस्कान सहितको सेवा दिनका लागि आग्रह सहितको दिए।

 

जिल्लाको जितेबजारदेखि घाटाचौरसम्म असुरक्षित तरिकाले यात्रा गरिरहेका यात्रुहरुको समस्यालाई मध्यनजर गरेर आरामदायी र सुरक्षित यात्राका लागि निजी कम्पनीसंगको समन्वयमा साझा यातायात संचालनमा ल्याइएको अध्यक्ष बमले बताएका छन।

 

उनका अनुसार हाम्रो जस्तो विकट क्षेत्रमा पहिलो आवश्यकता सडक हो, सडक विना कुनै पनि विकास गर्न नसकिने भएकाले पहिलो प्रथामिकता सडकलाई दिएर दुई वर्षमै सवै वडामा सडक पु-यापछि अब सवै वडाहरुमा गाडी गुडाउने बताए। गाउँपालिकाका धेरैजसो वडाका नागरिकलाई सुरक्षित यात्रा गराउनु गाउँपालिको पनि दायित्व भएकाले यो सेवा अझै बिस्तार गरिने उनको भनाई छ।

 

पलाँताका यात्रुहरुको मागलाई ध्यानमा राखेर गाउँपालिकाको नियन्त्रणमा भाडा दर कायम गर्ने गरी साझा यातायात सञ्चालनमा ल्याइएको हो। आम यात्रुहरुका लागि सहज, सुलब र सुरक्षित तरिकाले यात्रा गर्न सहज बनाउनुका साथै, धुलो, धुवाबाट बचाएर सहज यात्राका लागि साझा यातायात संचालनमा ल्याएको अध्यक्ष वमले बताए।

 

पुरै आरामदायी सिट, महिला कन्डक्टर, नम्र स्वभाबका साथ यात्रुको मर्यादामा ख्याल गर्नेगरी बसले सेवा दिन सुरु गरिएको जानकारी गरिएको छ। हरेक बसमा भाडादरको स्टिकर टाँस गरेर त्यस अनुसार कन्डक्टरले भाडा संकलन गर्ने ब्याबस्था मिलाइएको छ। गाउँपालिकामा ६ वटा गाडिमा १२ जनाले प्रत्येक्षरुपमा रोजगारी पाएका छन्।

 

सडक नपुगेका ठाउँमा जनप्रतिनिधिका लागि खरिद गरिएको महंगा गाडिहरुको नागरिकले चर्को आलोचना गरिरहेकोबेला पलाँता गाउँपालिकाले, पहिलो पटक जनताको लागि सुविधा सम्मपन्न चढ्ने गाडी संचालनमा ल्याउँदा त्यहाँका नागरिक खुशी भएका छन्, पलाँता गाउँपालिका अध्यक्षले गाउँपालिकामा गाडी गुड्ने सडक निर्माण भएपनि राज्यले दिएको मोटरसाइकलमै यात्रा गरिरहेका छन। पुल नहुँदा कर्णाली नदीबाट जोखिमका बिच पनि ६ वटा गाडी नदीबाट तारेर पलाँता गाउँपालिमाले साझा यातायात संचालनमा ल्याएको हाे।