तोकेको समयमा लाग्दैन फोन

काठमाडौं, फागुन ४ । भ्वाइस सेवाका लागि नियामकले निर्धारण गरेको मापदण्ड पूरा गर्न सेवा प्रदायकहरू करिब असफल देखिएका छन् ।

 

नेपाल दूरसञ्चार प्राधिकरणले चलायमान सवारीसाधनमा उपकरणको माध्यमबाट गरेको ‘ड्राइभ टेस्ट’ले तोकेको समयभित्र सेवा प्रदायकको फोन कल स्थापना हुन नसकेको देखाएको हो ।

 

दमक नगरपालिका र इलाम नगरपालिकामा पुसको अन्तिममा देशका प्रमुख सेवा प्रदायकहरू नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको भ्वाइस सेवा परीक्षण गरिएको थियो ।

 

प्राधिकरणले पाँच सेकेन्ड अथवा सोभन्दा कम समयभित्र फोनकल स्थापना हुनुपर्ने मापदण्ड तोके पनि दमकमा नेपाल टेलिकमको ९.३६ सेकेन्ड, एनसेलको ६.४५ र स्मार्ट टेलिकमको ८.०२ सेकेन्डमा मात्रै कल स्थापना भएको छ । इलाममा नेपाल टेलिकमको ९.५७ र एनसेलको ७.५८ सेकेन्डमा कल स्थापना भएको पाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।