प्रतिपक्षको दुई वर्ष :चुक्यो कांग्रेस

काठमाडौँ, फागुन ४ । प्रधानमन्त्री केपी ओलीले शनिबार संघीय संसद्मा सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्ष कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाप्रति कटाक्ष गरे । ‘कम्युनिस्ट सरकार आयो भने रुन पनि पाइन्नँ’ भनेर चुनावताका देउवाले दिएका अभिव्यक्तिप्रति उनले व्यंग्य गरे ।

 

आफ्नो नेतृत्वको सरकारलाई अधिनायकवादीको बिल्ला भिराएर अन्तर्राष्ट्रियकरण गर्न खोजिएकामा उनको असन्तुष्टि झल्कियो । त्यसक्रममा प्रधानमन्त्रीले कांग्रेसले अपनाउँदै आएका केही सैद्धान्तिक मान्यताको व्याख्या र सरकारले गरेका उपलब्धिलाई केही होइन भनेर प्रचार गरिएका प्रसंगलाई तथ्यांकसहित प्रतिवाद गर्ने प्रयास गरे । सरकारले गरेका उपलब्धिलाई प्रतिपक्षले गलत प्रचार गरेर जनतामा भ्रम छरेको उनको दाबी छ । ओलीले कांग्रेसलाई आलोचना गर्ने तथा आफ्ना कमजोरी देखाएर उम्कने प्रयास गरे पनि प्रमुख प्रतिपक्ष दुई वर्षमा सत्ताकै सहयोगीजस्तो बन्न पुग्यो ।

 

एउटै पार्टीको बलियो सरकारको नेतृत्व गरेका प्रधानमन्त्री ओलीलाई प्रतिपक्षबाट समेत अनुकूल स्थिति खडा भयो । संसद् र सडकमा बलियो प्रतिपक्षको सामना उनले गर्नु परेन । बरु, बेलाबखत सत्ता र प्रतिपक्षको भूमिका आफ्नै दलबाट झल्कन्थ्यो । त्यस्तो बेला प्रतिपक्ष कांग्रेसलाई खोज्न ऊ बसेको प्रतिपक्षी बेन्चतिर हेर्नुपर्ने स्थिति खडा भयो । –कान्तिपुर दैनिकबाट