अखिल (क्रान्तिकारी)का अध्यक्ष गजुरेल र उपाध्यक्ष न्यौपाने पक्राउ,अविलम्ब रिहाई गर्न जोडदार माग

काठमाडौं,फागुन २१ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी) अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बुढानिलकण्डस्थित यूरो किड्सबाट विनाकारण पक्राउ गरेको जनाइएको छ । उनीहरुलाई महाराजगञ्जस्थित प्रहरी कार्यालयमा राखिएको बुझिएको छ ।

संगठनका महासविच पेशल दाहालले मंगलबारै एक वक्तव्य जारी पक्राउ गरिएका नेताहरुको अविलम्ब रिहाईका लागि जोडदार माग गरेका छन् । जारी वक्तव्यमा नेताहरुको रिहाइका लागि आज महाराजगञ्ज प्रहरी कार्यालय अगाडि धर्ना दिनेलगायतका आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

केही दिनअघि पनि एमसीसी सम्झौताको खारेजी र अतिक्रमित भूमि फिर्ताको माग गर्दै गरको विरोध प्रदर्शनमा पनि हस्तक्षेप गरी अध्यक्ष गजुरेलसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको थियो ।