प्रहरीलाइ घुस दिन खोज्दा टिपर चालक खोरमा

काभ्रेपलाञ्चोक,फागुन २५ ।  काठमाडौंस्थित टिकाथली छिर्नलाई बनेपा नगरपालिका–१४ साँगामा कागजपत्र बिना टिपर चालकले प्रहरी सहायक निरीक्षकलाई पाँच सय र प्रहरी हबल्दारलाई एक सय घुस दिन खोज्दा प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ ।

 

जिल्लाकै नमोबुद्ध नगरपालिकास्थित भकुण्डेवेशीबाट गिटी बोकेर आएको बा ५ ख ८७९४ नंम्बरको टिपरसँग आवश्यक कागजपत्र नभएपछि प्रहरीचौकी सागाँमा कार्यरत प्रहरी हबल्दार दिपेन्द्र कार्कीले बिहान ५ः३० को समयमा कागजपत्र मागेका थिए । रामेछाप जिल्लाको खाडादेवी गाउँपालिका–९ का टिपर चालक सरोज तामाङले कागजपत्रको सट्टा एक सय थमाएपछि हबलदार कार्कीले तत्कालै प्रहरी सहायक निरीक्षक हरिशरण बस्नेतलाई जाहेरी गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।

 

प्रहरी सहायक निरीक्षक आउने बित्तिक्कै चालक सरोज तामाङले पाँच सय निकालेर दिएपछि प्रहरीले तत्कालै तामाङलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए । प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुशन्धान भैरहेको बताए ।