कोरोना भाइरसको महामारीबाट बचौं र बचाउँ : अध्यक्ष सीपी गजुरेल

काठमाडौं,चैत्र ५ । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले एक वक्तव्य जारी गरी कोरोना भाइरसको महामारीबाट बचौं र बचाउँ भन्ने अपील गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले आज एक वक्तव्य जारी गरी यस्तो अपील गरेका हुन् ।

वक्तव्यमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संत्रासले नेपाली समाजलाई नराम्ररी प्रभावित तुल्याएको भन्दै भाइरसको संक्रमणका विषयमा कुनै लापरवाही नगर्न सरकारसित जोडदार माग गरिएको छ । वक्तव्यमा कालोबजारी गर्ने र कृत्रिम अभाव सिर्जनाहरुमाथि कडा कारबाही गर्न सरकारसित जोडदार माग गर्दै दैनिक उपभोग्य वस्तुको सहज आफूर्तिका लागि समेत माग गरिएको छ ।

वक्तव्यमा भनिएको छ, “महामारीका रुपमा विश्वव्यापी फैलिएको कोरोना भाइरसको संत्रासले हाम्रो समाजलाई पनि व्यापकरुपमा प्रभावित पारेको छ । आतंकित भएर होइन होसियारी पूर्वक, आत्मविश्वासका साथ र एकताबद्ध भएर यसको सामना गर्न हामी सबैसँग अनुरोध गर्दछौं ।

 

सरकारका तर्फबाट अहिलेसम्म नेपालमा केवल एक जनामा यसको संक्रमण देखापरेको र उनी पनि त्यसबाट मुक्त भैसकेको जानकारी गराइएको छ । तर, उपचारको क्षेत्रमा लामो समय कार्यरत केही वरिष्ठ डाक्टरहरुबाट उक्त संक्रमणको परीक्षण गर्ने किट् नै पर्याप्त मात्रामा नभएको र त्यसको परीक्षण गर्न जानेहरुको परीक्षण नै नगरिकन हचुवाका भरमा यस्ता निष्कर्ष निकालिएको जस्ता विषयहरु सार्वजनिक भएका छन् । यसबारे गम्भीर रुपमा हाम्रो ध्यान आकर्षित भएको छ । कतै संक्रमितहरु नेपालमा छँदै छैनन् भनेर हामी ढुक्क हुने तर भित्र भित्रै संक्रमितको संख्या बढ्दै जाने अवस्था त हुने होइन रु भन्ने विषयमा अत्यन्त सजग हुन पनि हामी अनुरोध गर्दछौं ।

 

यसबारे यथार्थ स्थिति के हो त्यो सार्वजनिक गर्न हामी सरकार र सम्बन्धित पक्षसँग माग गर्दछौं । यस विषयमा हुने लापरवाहीको कति भयावह परिणाम हुँदो रहेछ भन्ने कुराको उदाहरण त इटाली नै पर्याप्त छ । यसमा थोरै पनि लापरवाही नहोस् भन्ने कुरामा हामी सतर्क गराउन चाहन्छौं ।

यो राष्ट्रिय विपत्तिका बेलामा सबै पक्ष सहयोगका लागि अघि बढ्नु पर्ने अवस्थामा यसको मौका छोपेर कालो बजारी गर्नेहरुमाथि कडा कारवाही गरी आवश्यक सम्पूर्ण सामग्रीको सहज आपूर्तिको व्यवस्था गर्न पनि सरकारसँग जोडदार माग गर्दछौं ।