देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले कोभिड १९ बाट बच्न र रोकथामका लागि सरकारसँग गर्यो जोडदार माग

 काठमाण्डौ,चैत्र २०।देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले सरकारसँग विभिन्न मागराखि ती मागलाई प्रभावकारी रुपले कार्यान्वयन गर्न आम जनसमुदायसँग यो सरकारलाई आ–आफ्नो ठाउँबाट दवावदिन सचेततापूर्वक अघि बढ्न अनुरोध गरेको छ । वक्तव्यमा जनतालाई राहत दिनु पर्ने अवस्थामा मन्त्रीहरु आफैं औषधी र स्वास्थ उपचार सामग्री जस्ता सम्वेदनशील वस्तुहरुको भ्रष्टाचारमा संलग्न भएको पाइनु लज्जाको विषय हो भनेर भनिएको छ र पीडितलाई खासै राहत नहुने किसिमको प्याकेज घोषणा गरेर आफ्नो दायित्वबाट सरकार पन्छिने काम गरेको छ र पीडितहरुको समस्याको समाधान हुने किसिमले थप प्याकेजको घोषणा गरियोस भन्दै उक्त मोर्चाका अध्यक्ष सी पी गजुरेलले आज एक प्रेस–वक्तव्यमार्फत यी कुरा अगाडि ल्याउनु भएको छ । प्रेस–वक्तव्यको पूर्ण पाठ तलदिइएको छ:

प्रेस–वक्तव्य
संसारभर महामारीका रुपमा फैलिएको कोभिड १९ बाट बच्न र यसलाई रोक्न विश्वव्यापीरुपमा प्रयास भैरहेका छन् । यतिखेर विश्वको आधा जनता लक्डाउन्मा छन् । नेपालमा पनि गत दश दिन देखि लक्डाउन जारी छ । यस अवधिमा यस महामारीसँग जुध्न युद्धस्तरमा काम गर्नु आवश्यक थियो । तर, सरकारले त्यो अपेक्षाको एकछेउ पनि पुरा गर्न सकेन । यसबाट पीडित जनताहरुमा झन् निराशा पैदा भएको छ । यस स्थितीमा हाम्रो संगठन, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल निम्न अनुसारका काम युद्धस्तरमा सम्पन्न गर्न सरकारसँग जोडदार माग गर्दछ ।

१.यो महामारी सुरु भएपछि अहिलेसम्म नेपालमा भारत लगायतका संक्रमित देशबाट करिव ९ लाख मानिस प्रवेश गरेको अनुमान छ । तिनीहरुको गतिविधिले देशका विभिन्न भागमा संक्रमण फैलिएको हुन सक्ने अवस्थालाई ध्यान दिएर त्यसको जाँच गरिसक्नु पर्दथ्यो । तर सरकार भन्छ – उनीहरुको आँकडा नै तयार गर्न सकिएन । यसले गर्दा ‘५ जनामात्र संक्रमित भएको’ भनेर आत्मरती लिने तर भित्र भित्रै संक्रमितको संख्या बढेर विस्फोटक रुप लिने त होइन ? भन्ने त्रास कायम छ । जे भयो त्यसको मूल्यांकन हुँदै जाला, अब परीक्षणको कामलाई युद्ध स्तरमा अघि बढाइनु पर्दछ ।

२.संक्रमण फैलिन र फैलाउनबाट रोक्नका लागि जुन क्वारेण्टाएनको व्यवस्था गरिएको भनिएको छ, त्यो यति अवैज्ञानिक र यति अस्वस्थ प्रकारको भएको देखिन्छ कि त्यसले उल्टो परिणाम ल्याउने खतरा देखिन्छ । विभिन्न प्रकारका सरकारी वा गैह्र सरकारी भवनहरुलाई उपयोग गर्दै स्वस्थ र वैज्ञानिक प्रकारको क्वारेण्टाइन निर्माण गरी दशौं हजार संक्रमितलाई व्यवस्थित रुपमा राख्ने व्यवस्था अविलम्ब गरिनु पर्दछ ।

३.यसका विमारीहरुको लागि चाहिने आई सि यु र भेण्टिलेटरको व्यवस्था व्यापकरुपमा गरिनु पर्ने हो त्यो भएको देखिँदैन । यसका साथै अन्य रोगका सिकिस्त विमारीहरुले पनि उपचार नपाएको खवर आइरहेका छन् । उपरोक्त व्यवस्थापनको काम सरकारले तीब्रताका साथ गर्नु पर्छ ।

४.रुघा, खोकी र ज्वरो आएका विमारीहरुलाई प्राइभेट मेडिकल कलेजहरुले गेटबाटै भित्र पस्नै नदिने, संक्रमण भएको आसंका गरिएका विमारीबाट त्रसित भै स्वास्थकर्मीहरु उपचारमा संलग्न नै नहुने जस्ता हरकत भैरहेको बुझिएको छ । त्यस प्रकारका मेडिकल कलेजलाई राष्ट्रियकरण गरी सरकारले संचालन गर्ने र एकीकृत स्वास्थ योजना बनाई युद्ध स्तरमा उपचारको कामलाई अघि बढाउने काममा सरकार तीब्रताका साथ लाग्नु पर्दछ ।

४.संरक्षित साधन नहुँदा समेत ज्यान जोखिममा राखेर खटेका डाक्टर, नर्स र अन्य स्वास्थकर्मीहरुलाई आवश्यक सुरक्षा सामग्री उपलव्ध गराउने, आवश्यक मेशिन र औषधीको व्यवस्था गर्नुका साथै उनीहरुको स्वास्थ बिमा र भत्ता र अन्य सहुलियत उचित मात्रामा अविलम्ब उपलव्ध गराउनु पर्दछ ।

५.नेपाल र भारत दुबै देशले लक्डाउन् र सिमा बन्द गरिसके पछि नेपालको सीमामा आइपुगेका भारतमा काम गर्ने नेपाली श्रमिकहरु केही दिन देखि सीमानामा भोक भोकै र अलपत्र अवस्थामा छन् । नेपाली भएको हुनाले उनीहरुको हितको लागि काम गर्नु पर्ने जिम्मेवारी नेपाल सरकारले हो, जुन मुक दर्शक बनेर बसेको छ । उनीहरुलाई भारत सरकार सँग वार्तागरी या त भारतीय सिमा भित्रै क्वारेण्टाइनको उचित व्यवस्था गरेर राखियोस् या नेपाल भित्रै क्वारेण्टायनमा उचित सुविधा सहित राखियोस् ।

६.सरकारले केही दिन अघि राहत्को लागि आर्थिक प्याकेजको घोषणा गरेको छ । पीडितलाई खासै राहत नहुने किसिमको प्याकेज घोषणा गरेर आफ्नो दायित्वबाट सरकार पन्छिने काम गरेको छ । पीडितहरुको समस्याको समाधान हुने किसिमले थप प्याकेजको घोषणा गरियोस ।

७.श्रमिकहरुको लागि यो लक्डाउन् अर्को कोरोना भाइरस बन्न पुगेको छ । श्रमिक र अन्य तल्लो वर्गको दैनिक समस्याको समाधान गर्ने व्यवस्था केन्द्र सरकारले अविलम्ब गरोस् ।

८.महामारीबाट उत्पन्न संकटको मौका छोपी उपभोग्य वस्तुहरु, पकाउने ग्यास, मास्क र औषधि समेत कालाबजारी गरेर कृत्रिम अभाव सिर्जना गर्नेहरुलाई जेल सहितको सजाय गरेर लुकाएको सामान नहुनेहरुलाई वितरण गरियोस् ।
९.कालोबजारी गर्नेलाई तह लगाएर जनतालाई राहत दिनु पर्ने अवस्थामा मन्त्रीहरु आफैं औषधी र स्वास्थ उपचार सामग्री जस्ता सम्वेदनशील वस्तुहरुको भ्रष्टाचारमा संलग्न भएको पाइनु लज्जाको विषय हो । उनीहरु माथि किन कारवाही गर्ने काम भएन ?

यतिखेर लक्डाउन्को अबज्ञा गर्ने, कोरोनाको विरुद्धका कदमलाई असहयोग गर्ने जस्ता काम कसैले पनि गर्नुु हुँदैन । कोभिड १९ का विरुद्ध एकतावद्ध भएर अघि बढ्न हामी सम्पूर्ण जन समुदाय सँग अनुरोध गर्दछौं । यदि सरकारले उपरोक्त कामहरुलाई पुरा गर्ने तत्परता देखाउँदैन भने, हामी तमासे भएर भने बसिरहन सक्दैनौ । हामी जहाँ छौं, त्यहीँबाट उपयुक्त सन्देश दिने, जनतालाई सजग गराउने र सरकारलाई दवाब दिने काममा सचेततापूर्वक अघि बढ्न हामी सबै आदरणीय जन समुदाय सँग अनुरोध गर्दछौं ।

सी पी गजुरेल
अध्यक्ष,
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल