‘कन्ट्याक्ट ट्रेसिङ’ मा सरकारको हेलचेक्राइँ, पहिलोपटक ‘लोकल ट्रान्समिसन’

काठमाडौं, चैत २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कन्ट्याक्ट ट्रेसिङ’ निकै कम गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको सम्पर्कमा आएका ९५ जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ भएको हो ।

 

सरकारको तथ्यांकले संक्रमितको नजिक आएकामध्ये अधिकांशको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको देखिएको छ । तर, चिकित्सकहरू यो संख्या कम भएको भन्दै संक्रमित व्यक्तिको १४ दिनसम्मको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्नुपर्ने बताउँछन् ।

 

चिकित्सकका अनुसार ‘कन्ट्याक्ट ट्रेसिङ’ का क्रममा सम्पर्कमा आएका व्यक्तिले दिएको विवरणका आधारमा आइसोलेसन वा क्वारेन्टाइनमा राखी संक्रमण जाँचका लागि छुट्याइन्छ । संक्रमित व्यक्तिले भेटेका र सम्पर्कमा आएका व्यक्ति खोज्न प्राविधिक टिम गठन गरे पनि कति जनालाई गरिएको तथ्यांक बाहिर आउन सकेको छैन ।

 

संक्रमित व्यक्ति आफू संक्रमण भएदेखि को–कोसँग सम्पर्कमा आयो भनेर पत्ता लगाउन ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिन्छ । तत्पश्चात् उनीहरूलाई निगरानीमा राखिन्छ ।

 

स्वास्थ्य सेवा विभागअन्तर्गत् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई ट्रेसिङको जिम्मा दिइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रेसिङमा आएकाको विस्तृत विवरण माग गरे पनि महाशाखाले यकिन गरेर बुझाउन सकेको छैन । ‘कन्ट्याक्ट ट्रेसिङ’ नहुँदा जोखिम बढ्छ ।

 

कति व्यक्ति कन्ट्याक्ट ट्रेसिङमा आए र कतिको जाँच भयो भन्नेबारे पनि स्वास्थ्य मन्त्रालयले आधिकारिक जवाफ दिएको छैन । विश्व स्वास्थ्य संगठनले बनाएको कन्ट्याक्ट ट्रेसिङ फारामका आधारमा भेटिएका व्यक्तिको विवरण संकलन गर्नुपर्ने हो ।

 

नेपालमा पहिलोपटक एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । कतार एयरवेजबाट नेपाल फर्किएका धनगढीका ३२ वर्षीय युवकले आफन्तलाई कोभिड–१९ सारेका हुन् । यसलाई विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले कोभिड संक्रमणको दोस्रो चरण मान्दछ ।

 

अहिलेसम्म नेपाल कोभिड–१९ संक्रमणको पहिलो चरणमा थियो । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना संक्रमणको अति उच्च जोखिम सूचीमा राखिसकेको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले भने, ‘हामी संक्रमणको दोस्रो चरणमा पुगेका छौं । यसले सावधानी बढाउनुपर्ने देखिएको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ ।

 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट हालसम्म १ हजार ५ सय २१ जनाको कोरोना परीक्षण भएको छ । हाल ६९ जना आइसोलेसनमा छन् । जसमध्ये १५ जना काठमाडौं उपत्यकाका अस्पताल र ५४ जना उपत्यका बाहिर आइसोलेसनमा उपचाररत छन् ।राजधानी दैनिकमा खबर छ।