राहत र आर्थिक कार्ययोजना तत्काल सार्वजनिक गर्न नेकाँको माग

ललितपुर, वैशाख १८ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले कोरोना भाइरसबाट पीडित भएका सबै वर्गलाई राहत र आर्थिक कार्य योजना तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

 

काँग्रेसले जीवन निर्वाहको समस्या झेलिरहेका नागरिकलाई विना भेदभाव राहत र सहयोग पु¥याउन सरकारसँग जोडदार माग गर्दै केन्द्र सरकारले तत्काल केन्द्रीय राहत कोषबाट स्थानीय निकायलाई साधन स्रोत हस्तान्तरण गरी राहतमा तीव्रता दिन जोड दिएको छ ।

 

स्थानीय तहमा राहत वितरणको सर्वदलीय संयन्त्रमार्फत अनुगमनको व्यवस्था तत्काल मिलाउन, लकडाउनका कारण अर्थतन्त्रका विभिन्न क्षेत्रमा परेको अल्पकालीन र दीर्घकालीन प्रतिकूल प्रभाव हेरी कार्ययोजना ल्याउन पनि माग गरिएको छ ।

 

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकपछि जारी छ पृष्ठ लामो र १९ बुँदे विज्ञप्तिमा भनिएको छ, कृषि ढुवानी सहित आपूर्ति व्यवस्था र कृषि क्षेत्र लगायत रोजगारी एवं आय आर्जनका अवसरहरु वृद्धि गर्नका लागि सामाजिक दूरीको मापदण्ड पालना गर्ने गरी संचालन हुन सक्ने उद्योग व्यवसायलाई प्रोत्साहन गर्न र राहतलगायतका कदमहरु चाल्न माग गर्दछ ।

 

बैठकको निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाको जोखिम सामना गर्न मुलुकलाई जरुरी पर्ने ठूलो रकमका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सांसद विकास कोषका रुपमा विनियोजन गरिंदै आएको नीति खारेज गरेर कोरोना विरुद्धको सचेतना, सामग्री, राहत र उपचारमा रकम पर्याप्त प्रबन्ध गर्न बैठकले सरकारसँग माग गरेको छ ।

 

कोरोना परीक्षणलाई व्यापक गर्नुपर्ने, निश्चित मापदण्डमा क्वारेन्टाइन व्यवस्थित हुनुपर्ने, अन्य रोगका विरामीको उपचारमा भइरहेको कठिनाइ अन्त्य गरेर सहज वातावरण निर्माण गर्न सरकारले आवश्यक प्रबन्ध मिलाउन पनि सरकारसँग कांग्रेसले आग्रह गरेको छ ।

 

राजधानी लगायत विभिन्न शहरी क्षेत्रमा अलपत्रमा परेका नागरिकहरुलाई ‘कि खान दिने, कि गाउँ जान दिने’ नीति लिएर तत्काल समुचित व्यवस्थापन गर्न गराउन बैठकले सरकार समक्ष माग गरेको छ ।

 

विश्वका विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपाली नागरिकहरुलाई स्वदेशमा ल्याउने व्यवस्था मिलाउन जोड दिँदै कोरोनापछिको नेपालको अर्थतन्त्र लगायतको गहन विषयमा पार्टीले आवश्यक समितिहरु गठन गरी तत्कालिक र दुरगामी दृष्टिकोण तय गर्ने जनाएको छ ।गोरखापत्र दैनिकमा नारद गौतमले लेखेका छन् ।