डिजिटल बैंकिङमा आकर्षण बढ्दै

काठमाडौं, बैशाख ३०। कोरोना भाइरसको संक्रमणपछि भएको लकडाउनमा डिजिटल बैंकिङ कारोबार बढेको छ । बैंक तथा वित्तीय संस्थाहरूले पनि नगदरहित बैंकिङ कारोबारमा जोड दिने भएका छन् । पछिल्लो समय मोबाइल तथा इन्टरनेट बैंकिङ, डेबिट, क्रेडिट तथा प्रिपेड कार्डका ग्राहकको संख्या करीब १ करोड ८२ हजार पुगेको छ ।

 

राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो समय बैक तथा वित्तीय संस्थामा करीब ३ करोड ११ लाख १२ हजार निक्षेप खाता सञ्चालनमा छन् । यसमध्ये डिजिटल कारोबारमध्ये मोबाइल बैंकिङको प्रयोगकर्ता बढी छन् । कुल निक्षेपकर्तामध्ये ९८ लाख ६ हजार २३७ जना मोबाइल बैंकिङ प्रयोग गर्छन्। ७२ लाख १५ हजार ६ सय ४६ जना डेबिट कार्ड प्रयोगकर्ता छन् । बैंक तथा वित्तीय संस्थामा ९ लाख ६९ हजार ५५ जना इन्टरनेट बैंकिङका प्रयोगकर्ता छन् । क्रेडिट कार्डका प्रयोगकर्ता १ लाख ४६ हजार ८ सय ५६ जना छन् भने प्रिपेड कार्डका प्रयोगकर्ता ६३ हजार ७ सय ७५ जना छन् ।

 

विश्व तथा मुलुक कोरोना भाइरसको प्रकोपबाट त्रसित भइरहेकाले अत्यावश्यक बाहेक अन्य व्यावसायिक कारोबार विगत डेढ महीनादेखि ठप्प छन् । लकडाउनको अवधिभर बैंकहरूले जुनसुकै डिजिटल कारोबार गरे पनि शुल्क नलाग्ने व्यवस्था गरेका छन् । पछिल्लो समय बैंकका ग्राहकले एक खाताबाट अर्को खातामा रकम ट्रान्सफर गर्न, मोबाइल, बिजुली, खानेपानी, इन्टरनेट लगायतको बिल भुक्तानी गर्नसमेत डिजिटल माध्यमलाई प्रयोग गरेका छन । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङले पनि भुक्तानी प्रणालीलाई सहज बनाएकाले यसतर्फ आकर्षण बढ्न थालेको हो । बैंक तथा वित्तीय संस्थाका साथै ई–सेवा, आईएमई पे, ई–खल्ती जस्ता मोबाइल वालेटहरूले गर्दा विद्युतीय भुक्तानी सहज बन्न थालेको छ । पछिल्लो कनेक्टआईपीएसमार्फत भुक्तानी गर्ने प्रचलन बढ्दो छ । यसले परम्परागत भुक्तानी प्रणाली र चेकलाई समेत विस्थापित गर्न सक्ने देखिन्छ ।

 

राष्ट्र बैंकले बैंकहरूलाई प्रविधिमा लगानी बढाउन जोड दिएको छ । अहिले बैंकिङ क्षेत्रमा थुप्रै प्रविधि भित्रिएको र ग्राहकले खाता खोलेको केही दिनमै एटीएम कार्ड, मोबाइल बैंकिङ प्रयोग गर्ने सुविधाले प्रविधिमा गरेको लगानी देखिन थालेको राष्ट्र बैंकको ठहर छ ।

 

राष्ट्र बैंकले वर्षेनि करोडौं रुपैयाँ खर्चेर नयाँ नोट छाप्ने गरेको छ, जसले गर्दा मुलुकलाई व्ययभार थपिएको छ । डिजिटले कारोबारले नोट चाँडै थोत्रो हुन नदिने भएकाले छपाइमा लाग्ने खर्च जोगिन सक्छ । त्यसैले नेपाल बैंकर संघले चालू आवको पूर्वबजेटकालीन प्रतिवेदनमा अब ८० प्रतिशत कारोबार डिजिटलाइजेशन गर्न सुझाव दिएको छ । यस्तो कारोबार पारदर्शी, छिटो र छरितो हुन्छ । त्यसैले अब कागजरहित कारोबारमा बढाउन सुझाव दिएको संघका अध्यक्ष भुवनकुमार दाहालले बताए ।

 

अब नगदरहित कारोबारमा जान आवश्यक भएकोमा बैंकविज्ञ सञ्जीव सुब्बासमेत जोड दिन्छन् । उनका अनुसार सरकारले नोट छाप्ने मेशिनभन्दा पनि नोटलाई विस्थापन गर्ने प्रविधि भित्र्याउनुपर्छ । विद्युतीय माध्यमबाट कारोबार गर्नेको संख्या बढे पनि यसको देशव्यापी विस्तारमा भने अझै चुनौती भएको पूर्वबैंकर सुब्बाको भनाइ छ ।

 

‘यतिका प्रविधिको विकास हुँदा पनि बैंकका शाखा कार्यालयहरूमा चेक साट्ने र रकम जम्मा गर्नेको भीड अझै बाक्लो हुने गरेको छ, अर्थात् नेपालको बैंकिङ प्रणाली अझै नगदमै आधारित छ । बैंकहरू पनि अझै पेपरलेस हुन सकेका छैनन्,’ उनले भने, ‘खाता खोल्दा, विदेशी नोट सटही गर्दा लगायत हरेक कामकारबाहीमा कागज प्रयोग गर्नुपर्ने बाध्यता छ । त्यसमा कुनै उपयुक्त प्रविधि आउन सकेको छैन । विश्व बैंकिङ बजारमा आम ग्राहकले चेक पाउँदैनन्। एटीएम पनि कमै प्रयोग गर्छन् । नेपालमा त्यस्तो अवस्था आउन भने चुनौती देखिन्छ ।आर्थिक अभियानमा खबर छ।