आक्रमक बन्दै कांग्रेस, दबाब बढाउँदै

काठमाडौं, जेठ ५ । प्रमुख प्रतिपक्षी कांग्रेस सरकारको गतिविधि कोरोना नियन्त्रणतर्फ केन्द्रित हुन नसकेको भन्दै सरकारप्रति आक्रामक बनेको छ । दिनानुदिन संक्रमण फैलिँदै जाँदा सरकार कछुवा गतिमै अघि बढेको र लकडाउनको ५५ दिन बित्दासमेत संक्रमण बढ्दा ‘के गर्ने ? भन्ने तयारीबारे सरकार प्रस्ट हुन नसकेको भन्दै कांग्रेसले सरकारप्रति आक्रोश पोखेको हो ।

 

कांग्रेस सभापति शेरबहादुर देउवाले संक्रमण बढ्दै जाँदा जनतामा सरकार नै नभएजस्तो अनुभूति हुन थालेको भन्दै सरकारप्रति आक्रोश पोखेका हुन् । सरकारलाई संकटको घडीमा जिम्मेवार बन्न आइतबार आग्रहसमेत गरेका छन् ।

 

‘परिस्थितिको गम्भीरताप्रति सरकार संवेदनशील हुन सकेन, लकडाउनको ५५औं दिन बित्दासमेत सरकार कछुवा गतिमा छ, देउवाले भने, ‘संक्रमण बढ्दा के गर्ने भन्ने तयारीबारे सरकार प्रस्ट छैन । जनतामा सरकार नै नभएजस्तो अनुभूति हुन थालेको छ ।

 

कांग्रेसले कोरोनाका कारण विदेशमा समस्यामा परेको लाखौं नेपालीलाई स्वदेश फर्काउने वातावरण बनाउन निरन्तर सरकारलाई दबाब दिँदै आएको छ ।

 

यसैगरी, भारतीय सीमामा बिचल्लीमा परेका हजारौं नागरिक स्वदेश ल्याएर व्यवस्थित क्वारेन्टाइनमा राख्न सकिने बताउँदै आएको छ । यसरी ल्याइएकालाई मापदण्डयुक्त क्वारेन्टाइनमा व्यवस्थित रूपले राखेर परीक्षणपश्चात् घर पठाउन सकिने कांग्रेसको भनाइ छ । व्यवस्थित रूपमा ल्याउने वातावरणका लागि सरकारले नीति बनाउन नसक्दा लुकीछिपी आएकाहरुबाट झनै संक्रमणको जोखिम बढेको भन्दै कांग्रेसले त्यतातर्फ ध्यान दिन सरकारलाई आग्रह गरेको छ ।

 

यसैगरी, स्वास्थ सामग्री तत्काल पर्याप्त प्रबन्ध गर्न, पीसीआर परीक्षण दायरा व्यापक रूपमा समुदायसम्म पु¥याउन, विभिन्न क्षेत्रका लागि आवश्यक राहत व्यवस्थित प्याकेज ल्याउनसमेत सरकारलाई कांग्रेसले दबाब दिइरहेको छ ।

 

कांग्रेसले कोरोना पीडितका लागि नीति तथा कार्यक्रमले आशा–भरोसा दिलाउन नसकेको टिप्पणी गर्दै पुनर्लेखन माग गर्दै आएको छ । नीति तथा कार्यक्रममा केन्द्रित रहेर सरकारमाथि दबाब बढाउने कांग्रेस रणनीति छ ।

 

कांग्रेसले नीति तथा कार्यक्रमको १ देखि २७६ बुँदासम्म पुनर्लेखन गर्नुपर्ने माग गरेको छ । संसदीय दलको शनिबारको बैठकमा आफ्ना सांसदलाई सशक्त भएर प्रस्तुत हुन कांग्रेसले निर्देशन गरिसकेको छ । उसले यसबीच ‘कसरी अघि बढ्ने ? भन्नेबारे विज्ञसँग छलफल गरेको थियो ।

 

त्यस्तै, विदेशमा रहेका नेपालीबारे जनसम्पर्क समितिसँग तथा अर्थतन्त्रबारे अर्थविज्ञसँग निरन्तर छलफल गरिरहेको छ । राजधानी दैनिकमा खबर छ।