विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख १६ हजार नाघ्यो, संक्रमितको संख्या ४७ लाख ९८ हजार भन्दा बढी

  विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख १६ हजार ५१४ पुगेको छ । साढे ४ महिना अघिदेखि फैलिएको कोरोना महामारीबाट विश्वका २१३ मुलुक तथा २ पानीजहाजमा गरी ४७ लाख ९८ हजार ४२४ जना संक्रमित भएका छन् ।

 

कोरोना संक्रमितमध्ये १८ लाख ५५ हजार ८१ जना उपचार पछि घर फर्किएका छन् । बितेको २४ घण्टाभित्र मात्रै ३ हजार ६१२ जनाले ज्यान गुमाएका छन् भने थप ८१ हजार ४१५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण भएका २६ लाख २६ हजार ८२९ जनाको उपचार भइरहेको छ । त्यस्तै उपचार गराइरहेका ४४ हजार ८२१ जनाको अवस्था गम्भीर छ ।

 

युरोपियन मुलुकहरुमा मात्रै कोरोना भाइरस संक्रमणबाट १ लाख ६२ हजार ८३९ जनाले ज्यान गुमाएका छन् । उत्तर अमेरिकी मुलुकहरुमा १ लाख २ हजार ९१४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

 

पछिल्लो समय एसियाली मुलुकहरुमा पनि कोरोना महामारीको अवस्था जटिल बन्दै गइरहेको छ । हालसम्म यहाँ २४ हजार ७३३ जनाले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् भने ७ लाख ९८ हजार ३०८ जना संक्रमित भेटिएका छन् ।

 

दक्षिण अमेरिकी मुलुकहरुमा २३ हजार २१७ जनाको मृत्यु भएको छ । ४ लाख ४० हजार १८२ जना संक्रमित भएका छन् । पछिल्लो समय कोरोना महामारीको सबैभन्दा उच्च प्रभाव अमेरिकामा परेको छ । जहाँ ९० हजार ९७३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । हालसम्म १५ लाख २६ हजार ८४२ जना संक्रमित भेटिएका छन् ।

 

अमेरिकापछि कोरोना संक्रमितको संख्या रुसमा धेरै देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । रुसमा मात्रै २ हजार ६३१ जनाको मृत्यु भएको छ भने २ लाख ८१ हजार ७५२ जना संक्रमित भेटिएका छन् ।