चीनमा बन्यो कोरोना भाइरस मार्ने,न्युट्रिलाईजिङ एन्टीबडी

 

एजेन्सी । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसले संक्रमण र मृत्युको कहर कायमै राखेको छ । सिंगो विश्व समुदायलाई त्राहीमाम बनाएको कोरोनाको अचुक औषधि पत्ता लगाउने प्रयास पनि विश्वका थुप्रै मुलुकहरुमा भैरहेका छन ।

 

यस्तो खोजमा लागेका वैज्ञानिकहरुले आफुले पाएका सफलताका बारेमा बेला बखत जानकारी दिंदै आएका पनि छन । यस्तै नयाँ जानकारी चीनबाट आएको छ । चीनको पेकिंग विश्वविद्यालयका वैज्ञानिकहरुले कोरोना पीडित विरामीलाई निको पार्ने औषधि पत्ता लगाएको दावी गरेका छन ।

 

पेकिंग विश्वविद्यालय मातहतको बेईजिंग एडभान्स ईनोभेसन सेन्टर फर जियोनमिक्सका निर्देशक सन्ने शीले बताए अनुसार यो औषधि न्युट्रिलाईजिङ एन्टीबडीको सिद्यान्तमा आधारित छ । यो औषधि कोरोनाबाट निको भैसकेका ६० जना मानिसहरुको रगतबाट बनाइएको हो ।

 

यो औषधिलाई मुसामा परीक्षण गर्दा सफल सावित भएको निर्देशक शीले बताए । मानव परीक्षण चरणको नजिक रहेको यो औषधिले कोरोना संक्रमित विरामीलाई निको पार्नुका अलावा मानव शरीरमा छोटो समयमा रोग प्रतिरक्षा प्राणालीको विकास गर्ने दावी गरिएको छ ।

 

वैज्ञानिक शी र उनको टिमले विकास गरेको यो औषधिका बारेमा गत आइतबार वैज्ञानिक जर्नल ‘सेल’ मा एक रिपोर्ट प्रकाशित भएको थियो । एन्टीबडीले कोरोना संक्रमित विरामीलाई निको बनाउँछ भने विरामी निको हुने अवधीलाई पनि छोट्याउँदै लाने जर्नलमा उल्लेख छ ।

 

यो औषधिको क्लिनिकल परीक्षणको क्रम जारी रहेको भन्दै वैज्ञानिक शीले भने, “हामीले तयार पारेको एन्टीबडी प्रणालीमा आधारित यो औषधि सार्वजनिक प्रयोगका लागि यो बर्ष भित्र तयार हुनेछ । यसका लागि हामी दिनरात काम गरिरहेका छौं ।

 

यसअघि पनि एक चिनियाँ स्वास्थ्य अधिकारीले मानव परीक्षण चरणका लागि ५ वटा खोपहरु तयार रहेको बताएका थिए । त्यस्तै विश्व स्वास्थ्य संगठनले पनि कोरोनाका विरामीलाई निको पार्ने भ्याक्सिनको निर्माण गर्न कम्तीमा १२ देखि १८ महिनासम्म लाग्ने यसअघि नै बताइसकेको छ । नागरिक खबरबाट