एमसीसीको फन्दामा पारेर नेपाललाई अमेरिकी सैनिक अखडा बनाउने षड्यन्त्र : सीपी गजुरेल

काठमाडौं,जेठ २७ । नेकपा (क्रान्तिकारी माओवादी) सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले भारतीय विस्तारवादद्वारा अतिक्रमित भूमि फिर्ता गर्न र अमेरिकी साम्रज्यवादी परियोजना एमसीसी सम्झौताको खारेजीको माग गर्दै विरोध प्रदर्शन गर्ने भएको छ ।

 

जेठ ३० गते दिनको १ बजे माइतीघर मण्डलामा गरिने विरोध प्रदर्शनलाई मोर्चाका केन्द्रीय अध्यक्ष सीपी गजुरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चाले जनाएको छ । मोर्चाले ३० गतेको कार्यक्रममा सहभागिताका लागि जनसमुदायका नाममा एक अपिल समेत जारी गरेको छ ।

 

मोर्चाले जारी गरेको अपिलमा भनिएको छ, “देश यतिखेर ठूलो संकटको भूमरीमा छ । कोभिड–१९ को महामारीबाट विश्वका जनता आक्रान्त छन् । हामी नेपाली जनता पनि त्यसमा सामेल छौं । सरकारको असक्षमताका कारण हाम्रो देशमा यो समस्या झन् भयावह हुँदै गएको छ।

 

यही मौका छोपेर भारतीय विस्तारवादले हाम्रो मातृभूमिमाथि थप अतिक्रमण गरेको छ । त्यसको हामी सम्पूर्ण नेपाली जनता एकताबद्ध भएर सामना गर्दै र्छाै ।

 

यसै बेला सत्ताधारी पार्टी र प्रतिपक्षी दलका केही प्रमुख नेताहरु अमेरिकी रक्षा विभागको ‘हिन्द प्रशान्त रणनीति’ अन्तर्गतको एमसीसीको फन्दामा पारेर नेपाललाई अमेरिकी सैनिक अखडा बनाउने षड्यन्त्रलाई कार्यान्वयन गर्न टुप्पीदेखि पैतालासम्मको बल लगाइरहेका छन्।

 

यस घडीमा विचार मन्थन गरी यी सबै समस्याको समाधान निकाल्ने उद्देश्यले हामीले आयोजना गरेको खुला कार्यक्रममा यहाँहरुको सहभागिताको लागि हामी विनम्र अनुरोध गर्दछौं ।