भाडादर खुलाएपछि मात्रै चार्टर अनुमति

काठमाडौँ,जेठ २९ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार्टर उडानमा यात्रुसँग लिइने भाडादर खुलाएको अवस्थामा मात्रै उडान अनुमति दिने व्यवस्था गरेको छ ।

 

चार्टर उडानको अनुमति माग्दा विमान कम्पनीले नियमअनुसार दिने कमिसन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वका आधारमा चार्टर भाडादर उचित देखिएमा मात्र अनुमति प्रदान गरिने मन्त्रालयले स्पष्ट पारेको छ । ट्राभल एजेन्सीले टिकट बिक्री गर्दा अस्वाभाविक रूपमा बढी रकम लिएको गुनासो बढेपछि मन्त्रालयले यस्तो व्यवस्था गरेको हो ।

 

नेपाल वायु सेवा निगमको विमान हङकङ र जापान चार्टर गर्दा यात्रुसँग अस्वाभाविक रकम लिएर टिकट बिक्री गरेको गुनासोपछि मन्त्रालयले नयाँ व्यवस्था गरेको हो । मन्त्रालयले उक्त उडानको सम्बन्धमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ ।

 

मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात महाशाखा प्रमुख सदस्य र मन्त्रालयकै उपसचिव राजन नेपाल सदस्य सचिव रहनेगरी मन्त्रालयले बुधबार छानबिन समिति गठन गरेको हो ।

 

समितिलाई उक्त उडानमा जहाज चार्टर गर्दा ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारमा के कति भाडा लिएको हो त्यसको सत्यतथ्य छानबिन गर्ने जिम्मेवारी मन्त्रालयले दिएको छ । समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ ।

 

कोभिड १९ का कारण सिर्जित परिस्थतिले नेपालमा रहेका विदेशी तथा भिसा अवधि सकिन लागेका नेपाली यात्रुलाई उद्धार गर्न निगमको विमानमार्फत चार्टर उडान गरिएको थियो । उक्त उडानमा यात्रुबाट एजेन्सीहरूले बढी रकम लिएर टिकट बिक्री गरेको गुनासो आएको थियो ।

 

मन्त्रालयले आगामी दिनमा चार्टर गरिने देश र सम्बन्धित मुलुकको कूटनीतिक नियोगबाट यात्रुको नामावलीसहित पूर्वस्वीकृति र यात्रुसँग लिने भाडा रकम खुलाएर मात्र चार्टर उडानका लागि सम्बन्धित विमान कम्पनीमा निवेदन दिनसक्ने व्यवस्था गरिएको अनुरोध पनि गरेको छ ।गोरखापत्र दैनिकमा खबर छ ।