प्रचण्डसहितका नेकपाका ३ शीर्ष नेता शीतलनिवासमा,दुई अध्यक्षबीच भेटवार्ता हुँदै

काठमाडौं,असार २१ । राष्ट्रपतिलाई अविस्वास र महाभियोग लगाएर हटाउन लागिएको भन्ने अभिव्यक्तिको प्रष्टीकरण लिन नेकपाका ३ शीर्ष नेता शीतलनिवास पुगेका छन् ।

आइतबार बिहान अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता हुँदै छ ।  शीतलनिवासबाट फर्किएपछि भेटघाटको सम्भावना रहेको वरिष्ठ नेता खनालको भनाइ छ ।

 

यसैबीच शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री, राज्यमन्त्रीहरूलाई बोलाएर राष्ट्रपति र आफूविरूद्ध षड्यन्त्र भइरहेको बताएपछि नेकपा विवादमा शीतल निवासको प्रवेश भएको छ । अध्यक्ष प्रचण्डसहितका नेताले महाभियोग लगाउने तयारी गरेको भन्दै पार्टीभित्रको विवाद तन्किएर शीतल निवाससम्म पुगेको हो ।

 

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्विटमार्फत खण्डन गरेका छन् । यसै विषयमा छलफल गर्न नेताहरू शीतल निवास जान लागेको बुझिएको छ ।