घट्न थाल्यो वैदेशिक व्यापार

वीरगञ्ज,साउन २ । कोरोना संक्रमण र नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीले वैदेशिक व्यापार नराम्ररी प्रभावित भएको छ । समुद्रपारबाट कन्टेनर र भारतका विभिन्न स्थानबाट कार्गो आउने वीरगञ्ज सुक्खा बन्दरगाहमा अहिले रेलको आवागमन स्वात्तै घटेको छ ।

 

भारतको कोलकाता र विशाखापत्तनम् बन्दरगाहमा कन्टेनर आउनै छाडेपछि रेलको आवागमन घटेको हो । जुलाई महीनामा कार्गो उल्लेख्य घटेको छ । जुलाई १६ सम्ममा कन्टेनरका १७, बोराबन्द २ र फलामका पाँचओटा ¥याकमात्रै बन्दरगाहमा भित्रिएका छन् ।

 

त्यसअघिका ३ महीनामा औसत ७० ¥याक कार्गो आएको हिमालयन टर्मिनलको तथ्यांकले देखाउँछ । वार्षिक रेल आवागमनका आधारमा यो संख्या ९५ छ ।

 

‘सामान्य अवस्थामा दिनमा तीनदेखि चारओटा रेल आउने बन्दरगाहमा अहिले बल्लतल्ल एउटाको दरले आइरहेको छ,’ वीरगञ्जको सुक्खा बन्दरगाह सञ्चालक हिमालयन टर्मिनलका प्रमुख कार्यकारी अधिकृत विष्णुकान्त चौधरीले भने ।

 

हिमालय टर्मिनलका वरिष्ठ अधिकृत अनिमेष कुमारका अनुसार यो हप्ता कार्गो आउनेक्रम झनै घटेको छ । ‘बिहीवार त एउटा ¥याक पनि आउने सम्भवना छैन,’ कुमारले भने ।

 

कोलकाता र विशाखापत्तनम्बाट वीरगञ्जका लागि हिँडेका २५ देखि ३० ओटा र्‍याक बाटोमा हुने गरेकोमा यो संख्या अहिले दुईदेखि चारमा झरेको चौधरीले बताए । बिहीवार कन्टेनर र फलामका दुईओटा मात्र र्‍याक बाटोमा देखिएको टर्मिनलले बताएको छ । यी र्‍याक विशाखापत्तनम् बन्दरगाहबाट हिँडेका हुन् । यो बन्दरगाहमा पनि नेपाल आउने कन्टेनरको चाप छैन ।

 

दैनिक २ सयको हाराहारी कन्टेनर आउने कोलकाता बन्दरगाहमा अहिले २५/३० कन्टेनर पनि पुग्न नसकेको कोलकातास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनीका प्रमुख लक्ष्मण खड्काले बताए । रेलका लागि पालो पर्खिनुपर्ने कोलकातामा अहिले ३ दिनमा एक र्‍याक पनि पुग्न नसकेको बन्दरगाह व्यवस्थापनले बताएको छ ।

 

बन्दाबन्दीअघि खुलेका प्रतीतपत्र (एलसी) को मालसामान आइसकेको र त्यसयता एलसी खुल्नेक्रम घटेकाले त्यसको असर आयातमा देखिएको व्यवसायीले बताएका छन् । गत चैत ११ देखि बन्दाबन्दी लागू भएको थियो ।

 

त्यसयता १ महीनाजति एलसी अत्यन्तै न्यून संख्यामा खुलेको नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका निर्देशक गुरु पौडेलले बताए । चैतपछि एलसी खोल्ने क्रममा सुधार आए पनि सामान्य भइनसकेको पौडेलको भनाइ छ ।

 

एलसीको मान्य अवधि १२० देखि १५० दिनसम्म हुने भएकाले अहिलेसम्म बन्दाबन्दी अघिका एलसीको मालसामान आएको आयातकर्ता बताउँछन् । चैतमा एलसी खोल्न नसक्दा त्यसको प्रभाव अहिले आयातमा देखिएको व्यवसायीले बताए ।

 

सरकारले व्यापारीबाट करमात्र असुल्न खोजेको र व्यवसाय सहजीकरण नगरेकाले आयात घटेको दाबी नेपाल उद्योग वाणिज्य महासंघ यातायात तथा पारवहन समितिका अध्यक्ष अशोककुमार टेमानीले गरे । ‘कोरोनाका कारण व्यापार असहज भएको छ । बजारबाट उधारो असुली भएको छैन । तर, सरकारलाई कर र राजस्वबाहेक अरू कुरामा चासो छैन,’ उनले भने ।

 

अहिले वैदेशिक व्यापार घटेको देखिए पनि अर्थतन्त्रमा त्यसको चक्रीय प्रभाव पर्ने टेमानीको भनाइ छ । सरकारी नीतिका कारण उद्यमी व्यवसायी हतोत्साही भएको आयातकर्ता सुरेश रुंगटाको गुनासो छ । ‘कोरोनापछि अधिकांश वस्तु र सेवाको लागत बढेको छ । तर, सरकार पुरानै मूल्यांकन र मूल्यको हठमा छ । यस्तो अव्यावहारिक नीतिले व्यवसाय झन् शिथिल हुन्छ, रुंगटाले आर्थिक अभियानलाई बताए ।

वीरगञ्जका दुवै भन्सारले भेटेनन् लक्ष्य

मुख्य भन्सार नाका वीरगञ्जमा रहेका वीरगञ्ज ९आईसीपी० र सुक्खा बन्दरगाह भन्सारले गत आर्थिक वर्ष २०७६र७७ को राजस्व लक्ष्य पूरा गर्न सकेनन् । वीरगञ्ज भन्सारलाई १ खर्ब ८८ अर्ब रुपैयाँ राजस्व लक्ष्य तोकिएकोमा १ खर्ब २६ अर्ब रुपैयाँ मात्र असुल भएको छ ।

 

यो रकम निर्धारित लक्ष्यको ६७ प्रतिशत भएको प्रमुख भन्सार प्रशासक ढुण्डीप्रसाद निरौलाले बताए । वीरगञ्ज भन्सारले आव २०७५र७६ मा लक्ष्यको ७२ प्रतिशत उठाएको थियो ।

 

त्यस्तै सुक्खा बन्दरगाह भन्सारले ३६ अर्ब १९ करोड रुपैयाँ राजस्व असुल गरेको छ । भन्सार प्रमुख उमेश श्रेष्ठका अनुसार संकलित राजस्व वार्षिक लक्ष्यको ८६ प्रतिशत हो । सुक्खा बन्दरगाह भन्सारलाई गत आवमा ४१ अर्ब ८८ करोड रुपैयाँको लक्ष्य दिइएको थियो ।

 

वर्षको अन्तिम चौमासमा फैलिएको कोरोना संक्रमण र नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीले आयात प्रभावित हुँदा लक्ष्य भेट्न नसकिएको भन्सारका अधिकारीहरूको भनाइ छ । सरकारले विलासिताका वस्तु आयातमा गरेको नियन्त्रण तथा वैदेशिक व्यापारमा आएको कमीको प्रभाव समग्र राजस्व संकलनमा परेको उनीहरू बताउँछन् ।आर्थिक अभियानबाट,