कोरोना संक्रमणबाट विदेशमा १९१ जना नेपालीको मृत्यु, कुन देशमा कतिको मृत्यु

सांकेतिक तस्वीर

 काठमाडौं,साउन २५। कोरोना भाइरस संक्रमणबाट हालसम्म विदेशमा १९१ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संंघका अनुसार पछिल्लो समय भारतमा थप दुई जना नेपालीकोे निधन भएको छ । शनिवार साँझसम्म नेपालसहित विभिन्न देशमा २६४ नेपालीको कोरोनाकै कारणले मृत्यु भइसकेको छ ।

 

संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा थप संक्रमण देखिएको छ ।

 

गत साताको तुलनामा मध्यपूर्वका देशहरु कतार, युएई, साउदी अरबलगायतमा कोरोना संक्रमणको दरमा कमी आएको छ । यस साता अष्ट्रेलियामा रहेका १४६ नेपालीमा नयाँ संक्रमण थपिएको समितिले जानकारी दिएको छ ।

 

समितिका अनुसार गत साता लग्जेम्वर्गमा रहेका नेपाली संक्रमितहरु संक्रमणमुक्त हुँदै गएका छन् । विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

 

तीमध्ये १६ देशमा रहेका नेपालीको कोरोनाका कारणले निधन भएको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेन, भारत, नेपाल, साउथअफ्रिकालगायतका देशमा रहेका नेपालीको निधन भएको छ ।

उद्धार जारी

विदेशमा अलपत्र नेपालीको गैरआवासीय नेपाली संघ, नेपाली राजदूतावास र कूटनीतिक नियोगबीचको सहकार्यमा ५८ देशबाट अलपत्र परेका ४६ हजार ३१२ जनाको उद्धार गरिएको छ ।

 

ती मध्ये सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार ५०१, साउदी अरेबियाबाट ६ हजार ९९७, मलेसियाबाट छ हजार ७९४, कुवेत बाट ६ हजार ३२९ , कतारबाट ५ हजार २५१, अफगानिस्तानबाट ३३, ओमानबाट ६३६, म्यानमारबाट २६, थाइल्याण्डबाट ३२६, दक्षिण कोरियाबाट ७२०, बंगलादेशबाट ८४१, माल्दिभ्सबाट ७०९, सिङ्गापुरबाट २९७, हङकङबाट ८९, पाकिस्तानबाट ७२, बहराइनबाट ९८०, अमेरिकाबाट ४२३, बेलायतबाट २२९, इजरायलबाट १२७, चीनबाट २०८ र टर्कीबाट ११० जना नेपाली स्वदेश फर्किएका छन् ।

 

त्यस्तै, फिलिपिन्सबाट २०१, स्वीट्जरल्याण्डबाट १०, इराकबाट ३९, दक्षिण सुडानबाट २५०, सेन्ट्रल अफ्रिकन रिपब्लिकबाट ६८, श्रीलंकाबाट ५, जापानबाट एक हजार २३ जना स्वदेश फर्किएका छन् । भारतबाट हवाई उडानमार्फत ८५ जना स्वदेश फर्किएका छन् । तर स्थलमार्ग हुँदै भारतबाट आएकाहरूको तथ्यांक यकिन छैन । रासस