राजनीतिक खिचातानीमा विश्वविद्यालय

काठमाडौं,साउन २८। त्रिभुवन विश्वविद्यालयमा लकडाउनयता पदाधिकारीले एकलौटी रूपमा विभिन्न कलेज, विभाग, डिन कार्यालय, अध्ययन संस्थानलगायत निकायका ३३ पदमा नेकपाका कार्यकर्ता धमाधम नियुक्ति गरिएपछि विश्वविद्यालयभित्र विद्यार्थी, प्रध्यापक र पदाधिकारीबीच मुठभेडको अवस्था उत्पन्न भएको छ ।

 

मंगलबार विश्वविद्यालयको उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, शिक्षाध्यक्ष शिवलाल भुसाल र रजिष्ट्रार पेशल दहालको कार्यकक्षमा नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले तोडफोड गरेको छ भने विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख गंगाबहादुर थापामगर चढ्ने गाडी र कर्मचारी बोक्ने गाडीसमेत तोडफोड भएको छ ।

 

विश्वविद्यालयका उपकुलपतिसहितको नेतृत्वले रिक्त रहेका पदमा नेकपाका विभिन्न आरोप लागेका व्यक्तिलाई समेत नियुक्ति गरेको थियो । मंगलबार नेवि संघले त्रिविका तिनै पदाधिकारीको कार्यकक्षमा ढुंगामुढा गरी तोडफोड गर्नुका साथै नेकपानिकट अनेरास्ववियुले प्रजातन्त्रवादी प्रध्यापक संघका अध्यक्षलाई फोन गरी धम्काएका थिए ।

 

यसैगरी नेवि संघले आफना दलनिकट प्रध्यापकलाई धम्की दिएको भन्दै नेकपानिकटका पदाधिकारीलाई कालोमोसो दल्ने र जे पनि गर्ने धम्की दिएको एक प्राध्यापकले बताए । नेपाल प्रजातन्त्रवादी प्राध्यापक संघ र नेवि संघले उपकुलपति, रेक्टर र रजिष्ट्रारको कार्यकालयमा तालाबन्दी गरेलगत्तै अनेरास्ववियु नियुक्तिको बचाउमा उत्रेको थियो ।

 

विश्वविद्यालयका प्रवक्ता सूर्यप्रसाद अधिकारीले मंगलबार केही विद्यार्थीको समूहले पदाधिकारीको कार्यकक्षमा ढुंगामुढा गरी झ्याल, ढोका तथा दराजका सिसा फुटाएको बताए । ‘संक्रमणकालीन अवस्थामा विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी र प्रध्यापक मिलेर विश्वविद्यालयलाई कसरी अघि बढाउनुपर्ने सोच्नुपर्नेमा तोडफोड र तालाबन्दीमा उत्रनु विश्वविद्यालयको हितमा हुँदैन,’ प्रवक्त अधिकारीले भने, ‘उच्च अदालत पाटनको निर्देशनअनुसार नै विश्वविद्यालयले साउन २३ मा तालाबन्दी खोलाएर कामकाज निरन्तर गरेको छ ।’ एक रिटमा उच्च अदालतले त्रिविका शैक्षिक गतिविधि नरोक्न आदेश दिएको थियो ।

करार हुनुपर्ने माग राख्दै तोडफोड

यसैबीच, त्रिविका आंशिक शिक्षकले विश्वविद्यालयले करार गर्नुपर्ने माग राख्दै महेन्द्र बहुमुखी क्याम्पस, दाङका प्रमुखको कार्यकक्षमा तोडफोड गर्नुका साथै प्रमुखको टेबुल कुर्सीमा आगजनी गरेका छन् । शिक्षकको समूहले क्याम्पस प्रमुखको नेमप्लेट र विद्युतीय हाजिर मेसिनमा समेत आगजनी गरिदिएका छन् ।

 

कलेज प्रमुख दिवाकर शर्मालाई कार्यकक्षबाहिर निकालेर कार्यकक्षमा तालाबन्दीसमेत गरिदिएका छन् । नेपाल आंशिक प्राध्यापक संघका महासचिव केशव चन्दले त्रिविले पटकपटक आंशिक शिक्षकलाई करार गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेकाले देशभरिकै आंगिक कलेजमा संघले तालाबन्दी गरेको बताए । ‘शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा नै मन्त्रिपरिषद्बाट १ हजार ४ सय २० आंशिकलाई करार गराउने प्रस्ताव पारित गराएका थिए,’ चन्दले नागरिकसँग भने, ‘तर हालका पदाधिकारीले त्यसलाई निरन्तरता गराउन चाहेनन्, त्यसबाट पछि हटेका छन् ।

 

नेकपानिकट नेपाल राष्ट्रिय प्राध्यापक संघका सहसंयोजक प्राडा रमेश भट्टराईले विश्वविद्यालय जटिल राजनीतिक र प्राज्ञिक संस्था भएकाले पदाधिकारीले वार्ता र छलफलबाट समस्याको समाधान निकाल्नुपर्ने सुझाए ।

यसैबीच, नेपाली कांग्रेसले प्रेस विज्ञप्ति जारी गर्दै विश्वविद्यालयमा देखिएका समस्या तत्काल समाधान गर्न अपिल गरेको छ ।

शैक्षिक संस्था अनिश्चितकालीन बन्द

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएकाले शैक्षिक संस्था अनिश्चितकालसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

 

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले मंगलबार संक्रमणको जोखिम बढ्दै गएकाले शैक्षिक संस्था हाललाई खोल्ने अवस्था नरहेकाले अर्को निर्णय नभएसम्म बन्द गरिने बताएका छन् । उनले काठमाडौं उपत्यका र २ सय भन्दा बढी संक्रमित रहेको जिल्लामा जनतासँग प्रत्यक्ष जोडिएर उपलब्ध सेवा घरबाटै व्यवस्थापन गर्न आग्रहसमेत गरेका छन् ।नागरिक दैनिकमा खबर छ।