नेपाल विद्युत् प्राधिकरण ३५ औँ वर्षमा हालसम्मकै उच्च नाफामा

काठमाडौँ, भदौ १ । नेपाल विद्युत् प्राधिकरण सोमबारदेखि स्थापनाको ३४ वर्ष पूरा गरी ३५ वर्षमा प्रवेश गर्दैछ । नेपालको ऊर्जा उत्पादन र वितरणमा अग्रणी संस्था सन् २०२३ सम्ममा सम्पूर्ण नेपालीको घरधुरीमा विद्युत् पु¥याउने लक्ष्यका साथ प्राधिकरण अगाडि बढिरहेको छ ।

 

विगतमा घाटामा रहँदै आएको प्राधिकरणले आर्थिक वर्ष २०७३÷७४ देखि नाफा गर्न सुरु गरेको हो । त्यसपछि क्रमशः नाफा वृद्धि गर्दै आएको छ । त्यसअनुसार आव २०७४÷७५ मा दुई अर्ब ८५ करोड, आव २०७५÷७६ मा नौ अर्ब ८१ करोड र आव ७०७६÷७७ मा हालसम्मकै उच्च रु.११ अर्ब पाँच करोड रुपियाँ नाफामा रहेको छ ।

त्यस्तै आव २०७५÷७६ मा प्रणाली चुहावट १५.३२ प्रतिशत रहेकोमा कोभिड–१९ बाट उत्पन्न प्रतिकूल परिस्थिति रहे पनि आव २०७६÷७७ मा प्रणाली चुहावटलाई १५.२७ प्रतिशतमा सीमित राख्न सकिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उल्लेख गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई कार्यरूप दिन विकासमा अन्य आयामको संवाहकका रूपमा प्राधिकरणको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ ।

३५औँ वर्ष प्रवेशका अवसरमा शुभकामना दिँदै मन्त्री पुनले स्वदेशी विद्युत् उत्पादन वृद्धि, माग र आपूर्ति व्यवस्थापन तथा व्यापारिक चुहावट न्यूनीकरणमा लाग्न निर्देशन दिनुभएको छ ।

त्यसैगरी ऊर्जा सचिव दिनेशकुमार घिमिरेले प्राधिकरणमा अबको दिनमा विद्युत् व्यापार महŒवपूर्ण र चुनौतीपूर्ण दुवै रहेको भन्दै अन्तर्देशीय तथा क्षेत्रीय विद्युत् व्यापारका लागि नियामक निकायको प्रक्रिया पूरा गर्नेतर्फ लाग्नुपर्ने बताउनुभएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले अहिलेसम्म प्राप्त गरेका उपलब्धि सुरुआत मात्र भएको र यसको जगमा टेकेर अघि बढ्दै समृद्धिका लागि सरकारले लिएको मार्गमा सहयोगी र भरपर्दो माध्यम बन्ने प्रण गरेको उल्लेख गर्नुभयो ।

 

प्राधिकरणले आगामी वर्षहरूमा पनि खर्च कटौती गर्ने–आम्दानी बढाउने, चुहावट घटाउने–खपत बढाउने, उत्पादन बढाउने–महसुल घटाउने, आयात घटाउने–निर्यात बढाउने उल्लेख गर्नुभयो ।गाेरखापत्र दैनिकमा खबर छ।