कालिकोटको नाग्म बजारमा पहिरो : मृतकको संख्या १० पुग्यो

  कालिकोट,भदौ १५। कालिकोट जिल्लाको तिलागुफा नगरपालिका १ मा रहेको नाग्म बजारमा आइतबार बिहान सुख्खा पहिरो खस्दा अहसलेसम्म १० जनाको मृत्यु भएको छ।  

 

कालिकोट र जुम्लाको सिमानामा रहेको यो बजारका चार वटा घर पहिरोमा पुरिएका छन्। पहिरोमा पुरिएर एकै घरका चारजना सहित १० जनाको ज्यान गएको हो।

 

जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार विहान साढे ७ बजे सुख्खा पहिरो गएको थियाे । जिल्ला प्रहरी कार्यालय कालिकाेटका अनुसार पहिरोमा १० जनाको मृत्यु भएको जनाएकाे छ ।

 

पहिरोमा मृत्यु हुनेहरुमा नाग्म बजारमा व्यापार गरी बसेका ४० बर्षका परेक शाही, उनका छोरा ५ बर्षका निराजन शाही, दुई महिनाको छोरा अक्कल शाही र ७ बर्षकी छोरी हिमा शाही रहेका छन्।

 

सोही पहिरोमै पुरिएर ३० वर्षका टेकबहादुर दमाई, उनकी पत्नी २५ वर्षीया छोइनु दमाई, ६ वर्षीय छोरा गजेन्द्र दमाई, ३५ वर्षीय मनवीर कटुवाल, ४५ वर्षीया आइती खड्का र २३ वर्षका अमृत थापाको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यलयले जनाएकाे छ।

 

प्रहरीका अनुसार मृतक परेक शाहीकी पत्नी पुन्या शाही र स्थानीय अर्जुन हमालको भने जिवितै उद्धार गरिएको छ। उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ।

 

तिलागुफामा केहीदिन अघि कोरोना देखिएपछि त्यहाँ निषेधाज्ञा जारी छ। बजार सिल भएका कारण स्थानीयहरु घरभित्रै बसेका थिए।

 

निषेधाज्ञा कारण पनि मानवीय क्षति धेरै भएको प्रहरीले जनाएको छ। पहिरोमा चार घर पुरिएका छन्। एउटा कुखुरा पालन गर्ने, एउटा एक मासु काट्ने घर र दुई वटा खुद्रा पसल रहेका घर पहिरोमा पुरिएका छन्।

 

प्रहरीले पहिरोमा थप वेपत्ता भएको हुन सक्ने आशंका गरेको छ। पसलमा कोही ग्राहकहरु गएको भए उनीहरु बेपत्ता भएको हुनसक्ने प्रहरीले जनाएकाे छ। नाग्म बजार कर्णाली राजमार्गमा अन्तर्गत रहेको बजार हो।