भोकले भौँतारिँदा ‘तातो भात’ : भोकको बेला भोजन पाउनु भगवान् पाए जस्तै भयो ?

विराटनगर, भदौ २७। ‘भोकभोकै दिन–रात बिताएँ, यो पीडा कसरी भन्न सकुँला र? यस्तो बेला खाना खुवाएर हाम्रो ज्यान बचाइदिनुुभयो । धन्य, यो गुन बिर्सन सकिन्न ।

कोरोना कहरले बन्द सहरका रित्ता सडकमा भोकले भौँतारिएका बेला स्वादिष्ट भोजन पाएपछि विराटनगरका गणेश थापाले निकै हर्षित हुँदै यस्तै प्रतिक्रिया व्यक्त गर्नुभयो ।

 

स्थानीय क्याटरिङमा ज्यालादारी गर्दै आउनुभएका थापा जस्तै भोकले छट्पटाउनुभएका दिलीप चौधरीले पनि भोक लागेको बेला भोजन पाउनु पनि भगवान् आए जस्तै भयो भन्नुभयो ।

बसपार्कमा भारी बोकेर त कहिले प्लास्टिक टिपेर पेट पाल्दै आउनुभएका चौधरी जस्तै सडकमा जीवन र रोजगारी खोज्नेलाई भोकमा राहत लिएर उपस्थित थिए, विराटनगरका केही जागरुक र उत्साही युवा ।

दैनिक ज्यालादारीबाट भएको आम्दानीले छाक टार्ने समुदाय कोरोना (कोभिड–१९) महामारीमा सबैभन्दा बढी पीडित बन्न पुगेका छन् ।

 

कोरोनाको कहर, बन्द सहर, रोजगार गुमेका मजदुर, दान लिएर ज्यान पाल्ने समुदाय यत्रतत्र भोकले सडकमा छट्पटाएको अवस्था देखेपछि विराटनगरका केही युवा सामाजिक सञ्जालमा जुटे, ‘निःशुल्क खाना खुवाउने टिम’ मार्फत ।

समूहका युवाले आफ्नै प्रयासमा खाना अभियान थालेका थिए । समूहका संयोजक ओसिम आलमका अनुसार सुरुका दिनमा समूहका सदस्यले मिलेर दैनिक बिहान–बेलुका गरी करिब ४५० जनालाई निःशुल्क खाना खुवाउन थालिएको थियो ।

 

समूूहले सडकमा मात्र होइन टोलटोलमा पुगी भोका व्यक्तिको खोजी गरेको थियो । उद्देश्य थियो, ‘भोकै कोही नपरून्, भोकले कोही नमरून् ।

विशेषगरी बजार क्षेत्रका पसल, सडक र मठमन्दिरमा बसेर दान लिने, प्लास्टिक र खाली सीसी सङ्कलक, अपाङ्गता भएका व्यक्ति, सार्वजनिक यातायात मजदुरलाई लक्षित गरी निःशुल्क खाना अभियान थालिएको संयोजक आलमले बताउनुभयो ।

त्यसबाहेक विराटनगर क्षेत्रमा डेरा गरी बसेका १६४ विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र बन्दाबन्दीपछि घर फर्किन नपाएर अलपत्र परेका झन्डै ७० भारतीय मजदुरलाई समेत यस समूहले खाने, बस्ने व्यवस्थासहित खाना खुवाएको थियो ।

 

निःशुल्क खाना अभियानमा सामाजिक सञ्जालबाटै सहयोग जुट्न थाल्यो । मनकारी व्यक्ति सञ्जालमा जोडिँदै जाँदा अभियान निरन्तर चलाउन सजिलो भएको समूहका सदस्य पप्पु अन्सारी बताउनुहुन्छ ।

निःशुल्क खाना खुवाउने अभियानभरि मोरङ जिल्ला कटहरी गाउँपालिका–४ का किसान कोपिन्द्र सिंहले निःशुल्क तरकारी धानिदिनुभएको थियो । त्यस्तै देशविदेशबाट पनि सहयोग जुटिरहेको थियो ।

 

संयोजक आलमका अनुसार सहयोग जुट्न थालेपछि अभियान पारदर्शी बनाउन फेसबुक पेजबाट दाताको नाम र सहयोग रकमसमेत सार्वजनिक गर्न थालियो ।समूूहका सदस्य दीपा दर्नालका अनुसार समूूहले सरकारी तथा गैरसरकारी संस्थाबाट अहिलेसम्म सहयोग लिएन ।

 

केही दिन खाना खुवाउने काम गरौँ भनेर सुरु गरिएको अभियानले सामाजिक सञ्जालमा ‘ग्रेट जब’ भन्दै देश विदेशबाट सन्देश आउन थालेपछि र स्थानीय सञ्चार माध्यमले समेत सकारात्मक साथ दिएपछि अझ उत्साहित भएर अभियानमा लागिएको संयोजक आलमले बताउनुभयो ।

 

अहिले अभियान एक सय दिनबाट अगाडि बढिसकेको छ । निषेधाज्ञाको स्वरूप परिवर्तन हुँदै जाँदा खाना अभियानको स्वरूप र शैली पनि परिवर्तन गर्दै लैजाने योजना अभियानकर्मीको छ ।

 

उहाँहरूको उत्साह अझ बढ्दो छ, जब पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिडियो कल’ गरेर अभियानकर्मीलाई बधाई दिनुुभयो, ‘आहा ! गज्जब काम गर्नुभयो । गोरखापत्र दैनिकमा खबर छ।