गौतमको मुद्दा फेरि हेर्दाहेर्दैमा, अब फेरि पुनः बुधबार सुनुवाई हुने

काठमाडौं, असोज १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमविरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई आज पनि पुनः हेर्दाहेर्दैमा राखिएकाे छ।  

 

गत बुधबार हेर्दाहेर्दैमा राखिएको रिटमा आज शुक्रबार पुनः सुनुवाई भए पनि नटुङ्गीएपछि पुनः हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतले जानकारी दिएकाे छ। 

 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रियसभा, नेकपा केन्द्रीय कार्यालय र गौतमलाई विपक्षी बनाएर असोज ४ गते सर्वोच्चमा रिट दायर गर्नुभएको थियो ।

 

सो रिटमा असोज ७ गते बुधबार प्रारम्भिक सुनुवाई भएको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमको सांसद पद हालका लागि यथास्थितिमा राखी संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश गरेको थियो ।

 

वर्दिया १ बाट पराजित गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको भन्दै दायर रिटमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाले संवैधानिक इजलाशमा सुनुवाइ गर्दै हुनुहुन्छ ।

 

मन्त्रिपरिषदको भदौ २९ गतेको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले नेता गौतमलाई असोज १ गते राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको थियो ।

 

गौतमले सोही दिन साँझ ४ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।तर अहिले सर्वोच्चमा परेको रिटले गाैतमकाे मन्त्री हुने चाहाना चकनाचुर हुने अवस्थामा पुगेकाे छ।