वार्ता गर्न सरकार र केसी दुवै पक्षबाट टोली गठन: आज अनशनको २५औं दिन

काठमाडौं,असोज २२। सरकारले अनशनरत डा.गोविन्द केसीसँग वार्ता गर्न बुधबार शिक्षासचिव गोपीनाथ मैनालीको संयोजकत्वमा टोली गठन गरेको छ। टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव गुणराज लोहनी र राष्ट्रिय चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा सदस्य छन्। समितिले बिहीबार वार्ता थाल्नेछ।

 

केसीले अनशन सुरु गरेको २४ दिनमा सरकारले वार्ताटोली गठन गरेको हो। मंगलबार सचिव मैनाली केसीलाई भेट्न शिक्षण अस्पताल गएका थिए। उनले अनौपचारिक रुपमा अनशन तोड्न आग्रह गरेका थिए। तर केसीले माग पूरा नभएसम्म अनशन नतोड्ने स्पष्ट पार्दै औपचारिक वार्ताटोली गठन गरेर आउन भनेका थिए।

 

टोली संयोजक मैनालीले बिहीबार बेलुकासम्म केसीसँग वार्ता गर्ने तयारी भइरहेको बताए। ‘दिउँसो व्यस्त रहने कार्यक्रम भएकाले बेलुकासम्म कुनै न कुनै हिसाबले वार्ता गर्नेछौं,’ उनले भने। केसीको माग सम्बोधन गर्न वार्ता गर्ने कार्याधिकार टोलीलाई प्राप्त भएको मैनालीले बताए। उनले माग सम्बोधन गर्नेगरी वार्ता हुने र केसीले छिटै अनशन तोड्ने विश्वास व्यक्त गरे।

 

डा.केसीका तर्फबाट पनि जीवन क्षत्रीको संयोजकत्वमा चार सदस्यीय वार्ताटोली घोषणा गरिएको छ। केसीका सहयोगी प्रितम सुवेदीका अनुसार वार्ताटोलीका सदस्यमा नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की, डा.अन्जनीकुमार झा र अधिवक्ता ओम प्रकाश अर्याल छन्।

सार्थक वार्तामार्फत समाधान खोज्न २१ सम्पादकको सुझाव

यसैबीच प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले डा। केसीसँग सार्थक वार्ता गरी उनको जीवन रक्षा गर्न सरकार समक्ष माग गरेका छन्। बुधबार २१ जना सम्पादकले संयुक्त विज्ञप्ति जारी गर्दै आरोपप्रत्यारोप बन्द गरेर वार्तामार्फत समाधान खोज्न आग्रह गरेका हुन्।

 

केसीसँग वार्ता गर्न सरकारले बुधबार साँझ वार्ता समिति गठन गरेको उल्लेख गर्दै सम्पादकहरूले निर्णायक म्यान्डेटसहित सार्थक अग्रसरता तुरुन्तै देखाउन पनि आग्रह गरेका छन्।

सम्पादकहरू अखिलेश उपाध्याय, अमित ढकाल, अरुण बराल, कसमस विश्वकर्मा, किरण नेपाल, कृष्णज्वाला देवकोटा, गुणराज लुइँटेल, दिलभूषण पाठक, नारायण वाग्ले, पूर्ण बस्नेत, प्रकाश रिमाल, प्रतीक प्रधान, प्रशान्त अर्याल, वसन्त बस्नेत, राजन पोखरेल, राजेन्द्र दाहाल, शिव गाउँले, सन्जीव सतगैंया, सुधीर शर्मा, सुभाष घिमिरे, हरिबहादुर थापा र युवराज घिमिरेले अनावश्यक ढिलाई कसैको हितमा नहुने जनाएका छन्। ‘केसीको जीवन र कर्म यो राज्य तथा सिंगो समाजका लागि महŒवपूर्ण छ।

केसीको जीवन बचाउनु भनेको जनस्वास्थ्य बचाउने उत्तरदायित्व अन्तर्गतकै काम हो,’ विज्ञप्तिमा छ, ‘यसर्थ हामी सरकारसँग अविलम्ब सार्थक वार्ताका लागि पहल गर्न अपिल गर्छौं।’

 

नेपाली समाजमा डा.केसी इमान र आशाको प्रतीक रहेको उल्लेख गर्दै सम्पादकहरूले चिकित्सा शिक्षा विधेयक र केदारभक्त माथेमा नेतृत्वको चिकित्सा शिक्षा सुधार कार्यदल निर्माण केसीकै सत्याग्रहको सकारात्मक नतिजा भएको जनाएका छन्।

‘यसर्थ अभिभावकीय जिम्मेवारी लिँदै सरकारले केसीसँग उच्च तहबाट अविलम्ब वार्ता थाल्नुपर्छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘उनका सबै माग आजै सुनुवाइ हुन नसक्लान् तर तार्किक छलफलबाट नै त्यसले टुंगो पाउँछ।

 

कोभिड १९ ले नेपाल पनि जेलिएका बेला केसीको सत्याग्रह चलिरहेको उल्लेख गर्दै सम्पादकहरूले राज्यका सामु यो विषाणुका कारण जनस्वास्थ्य बचाउनुपर्ने, अर्थतन्त्रको सम्भावित संकट टार्नुपर्ने गुरुत्तर दायित्व भएको पनि स्मरण गराएका छन्।

‘के याद गर्नुपर्छ भने, सत्याग्रही केसीले यो १९औं अनशनका क्रममा उठाएका माग सरकारले सम्बोधन गर्न चाहेका राष्ट्रिय सरोकारसँग समेत जोडिएका छन्,’ विज्ञप्तिमा उल्लेख छ।

चिकित्सक संघ आन्दोलनमा

अनशनरत डा. केसीका माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघले चरणबद्ध आन्दोलन घोषणा गरेको छ।

संघले केसीका माग सम्बोधन गर्न आइतबार सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो। त्यसको सुनुवाइ नभएपछि संघले बुधबार देशव्यापी आन्दोलन घोषणा गरेको हो। सरकारले साँझ वार्ताटोली गठन गरेको छ।

 

संघका अध्यक्ष डा.लोचन कार्कीका अनुसार बिहीबार बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्यसंस्था तथा अस्पतालमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक अन्य स्वास्थ्यसेवा बहिष्कार गर्ने निर्णय भएको छ।

शुक्रबार एक दिनका लागि देशैभरका स्वास्थ्यसंस्था तथा अस्पतालमा आकस्मिक र कोभिड–१९ का सेवाबाहेक सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बहिष्कार गर्ने निर्णय भएको उनले जानकारी दिए।

 

‘शुक्रबारसम्म पनि सरकारले वार्ताटोली बनाई सत्याग्रहको अन्त्य नगरेको अवस्थामा संघबाट थप कडा विरोधका कार्यक्रम सार्वजनिक गरिनेछ’, डा। कार्कीले भने, ‘संघद्वारा घोषणा गरिएका विरोधका कार्यक्रमबाट उत्पन्न हुन सक्ने गम्भीर परिस्थितिप्रति नेपाल सरकार नै जिम्मेवार हुनेछ।

 

संघका शाखा कार्यालयहरु, देशभरका स्वास्थ्य संस्था वा अस्पतालको प्रांगणमा जनस्वास्थ्यको मापदण्ड अपनाई सामाजिक दूरी कायम गर्दैैै धर्ना दिने कार्यक्रम पनि तय भएको छ।

 

संघका शाखा कार्यालयहरु र देशभरका सम्पूर्ण स्वास्थ्यसंस्था, अस्पताल वा उपयुक्त स्थानमा सामाजिक दूरी कायम गरी जनस्वास्थ्यको मापदण्ड अपनाई कालोपट्टी बाँधी रिले अनशन गर्ने संघका महासचिव डा.बद्री रिजालले बताए। नागरिक दैनिकमा खकर छ।