बिनाशर्त अनसन अन्त्य गर्न डा.केसीलाई सरकारी वार्ता टोलीको अनुरोध (विज्ञप्तिसहित)

काठमाडौं,असो २४ ।सरकारले अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीलाई बिनाशर्त आफ्नो अनसन स्थगित गर्न वार्ता टोलीले अनुरोध गरेको छ।

शनिबार विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट गठित वार्ता टोलीका संयोजक गोपी मैनालीले केसीलाई अनसन स्थगित गर्न अनुरोध गरेका हुन्।

 

 उनको जीवन जोखिममा परिरहेका बेला सरकारी पक्षले भने वार्ता गर्नुको सट्टा अनसन स्थगितको अनुरोध तेर्स्याएको हो।असोज २२ र २३ गते भएको वार्तामा सरकारले आफ्नो तर्फबाट डा.केसीले उठाएका मागबारे स्पष्ट पारिसकेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

चिकित्सा शिक्षाको नियमनका लागि राष्ट्रिय चिकित्सा ऐन, २०७५ तथा राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ जारी भइसकेको र सो बमोजिम चिकित्सा शिक्षा आयोग गठन भइ एकीकृत प्रवेश परीक्षा सिट निर्धारण, एकीकृत शैक्षिक सत्र, गुणस्तर प्रत्यायन बोर्ड गठन, नेसनल मेडिकल स्पेसियालिटिज बोर्ड गठन, सरकारी शिक्षण संस्थामा ७५ प्रतिशत छात्रबृत्ति लगायतका नियमन सम्बन्धि व्यवस्था कार्यान्वयनमा आइसकेको विज्ञप्तिमा उल्लेख छ ।गेटा मेडिकल कलेज भवन र अस्पताल निर्माण सम्पन्न भइसकेको विज्ञप्तिमा जनाइएको छ ।

 

कर्णाली विज्ञान स्वास्थ्य प्रतिष्ठानद्वारा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोग समक्ष स्वयं मूल्यांकन प्रतिवेदन पेश भइसकेको छ।।

प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापनाका लागि बर्दिबास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरुयोजना स्विकृत भइसकेको वातावरणीय प्रभाव मूल्यांकन स्विकृतिको अन्तिम चरणका रहेको विज्ञप्तिमा उल्लेख छ ।

 

विज्ञप्तिमा भनिएको छ, ‘सरकार गुणस्तरीय चिकित्सा शिक्षाको विस्तार तथा स्वास्थ्य सेवा प्रवाहमा प्रतिवद्ध छ।’