नेपाल चिकित्सक संघले आकस्मिक र कोभिड बाहेकका सेवा बहिस्कार गर्ने निर्णय

काठमाडौं,असोज, २४। अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीलाई बिनाशर्त आफ्नो अनसन स्थगित गर्न वार्ता टोलीले अनुरोध गरे पछि नेपाल चिकित्सक संघले भोलि आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक र कोभिड १९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने घोषणा गरेको छ।

 

२७ दिनदेखि आमरण अनसनरत डा.केसीको जीवन रक्षाका निम्ति सरकार गम्भीर नभएको र वार्तालाई सिमितले पनि माग पुरा गर्न अग्रसर नदेखिएको भन्दै संघले आइतबार आकस्मिक र कोभिड-१९ बाहेकका सम्पूर्ण सेवा बहिस्कार गर्ने निर्णय गरेको हो ।

 

२५ गतेसम्म सत्याग्रह अन्त्य नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चिकित्सक संघको चेतावनी दिएकाे छ । डा.केसीले ६ बुँदे माग राखेर २९ भदौमा अनसन थालेका थिए ।

 

अनसनको २४औं दिन सरकारले वार्ता टोली बनाएपछि बिहीबार र शुक्रबार वार्ता पनि भएको थियो । डा.केसीको तर्फबाट बनेको वार्ता टोलीमा चिकित्सक संघका अध्यक्ष समेत सदस्य रहेका छन् । तर सहमति जुट्न सकेको छैन ।

 

  सरकारी वार्ता टोलीले कोभिड -१९ को महामारीले मुलुक आक्रान्त बनेको विषम परिस्थितिलाई मनन गर्न बिनाशर्त अनसन अन्त्य गर्न डा.केसीलाई आग्रह समेत गरेको छ ।