कोरोना संक्रमितलाई लोकसेवा परीक्षा दिन रोक : के भन्छन् विज्ञ ?

काठमाडौं,असोज २७। लोकसेवा आयोगले कोरोना भाइरस संक्रमितलाई परीक्षा दिन रोक लगाउने निर्णय तत्काल फिर्ता लिन विज्ञहरूले आग्रह गरेका छन्।

 

संक्रमितले परीक्षा दिन नपाउनेगरी आयोगले बनाएको मापदण्डले परीक्षा दिन पाउने नागरिकको मानवअधिकारको ठाडो उल्लंघन भएको उनीहरूको भनाई छ।

 

कोरोना संक्रमण भएकै कारणबाट लोकसेवा आयोगको परीक्षा दिन नपाउने भनी आयोगले गरेको व्यवस्था उपयुक्त नभएको बताउँदै आयोगका पूर्वसदस्य गोविन्द कुसुमले भने, बरु कोरोना संक्रमितहरुलाई छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था मिलाउनुपर्छ। संक्रमित भएकै कारण परीक्षा दिनपाउँदैन भन्नु ठिक होइन।

 

आयोगले बनाएको मापदण्डमा कोरोना संक्रमितहरु परीक्षा हल भित्र प्रवेश गर्न नपाउने व्यवस्था गरिएको छ। तर,संक्रमण भए र नभएको घोषणा भने परीक्षार्थी आफैले गर्नु पर्ने व्यवस्था गरिएको छ।

 

पूर्व प्रशासक शारदाप्रसाद त्रितालले कोरोना संक्रमितहरुलाई परीक्षा दिनबाट वञ्चित गर्दा उनीहरुको अधिकार उल्लंघन हुनेदाबी गरे।

 

‘बरु केही दिन पर परीक्षा सार्न सकिन्छ। अथवा कोरना संक्रमितहरुलाई छुट्टै कोठमा राख्न सकिन्छ तर परीक्षा दिन पाउँदैनौ भन्नु उनीहरूको मानव अधिकार उल्लंघन हो’ त्रितालले भने, ‘आयोगले बनाएको अहिलेको मापदण्ड परिमार्जन गर्नुपर्छ।

 

आयोगको परीक्षाका लागि तयारी फाराम भरेका एक युवाले भने, ‘मानौ ३९ वर्ष ११ महिना पुगेकी एक महिला परीक्षा दिने बेला कोरोना संक्रमित भइन भने अब उनी निजामती सेवामा कहिल्यै प्रवेश पाउँदिनन्। यस्तो व्यवस्थाले मुख्यसचिवसम्म हुन पाउने ती महिलाको अधिकार गुमेको उनको भनाइ छ।

 

आयोगकी प्रवक्ता गिताकुमारी हुमागाईंले कोरोना संक्रमितहरु स्वास्थ्यको कारणबाट परीक्षा हलसम्म प्रवेश गर्न नसक्ने भएकोले यस्तो नियम बनाएको बताइन।

 

‘स्वास्थ्यको कारणबाट कोरोना संक्रमितहरु परीक्षा दिन सक्दैनन। यस्तो व्यवबहारिक कठिनाइ बुझेर हामीले यस किसिमको मापदण्ड बनाएका हौ’उनले भनिन्।

 

आयोगले बनाएको मादण्डमा एक सय जना व्यक्तिकोलागि एउटा परीक्षा केन्द्र बनाउनु पर्ने, एउटा कोठामा बढीमा २५जना व्यक्तिलाई राख्नु पर्ने, एउटा व्यक्ति र अर्को व्यक्तिवीच कम्तीमा २ मिटर फरक हुनु पर्ने, एउटा वेञ्चमा एक जना व्यक्ति मात्र बस्नु पर्ने, परिक्षा हल भित्र प्रवेश गर्दा र परीक्षा हलबाट निस्कदा कम्तीमा २ मिटर भौतिक दुरी कायम हुनु पर्ने लगायतका मापदण्ड राखिएका छन्।

 

यसैगरी परिक्षार्थीहरुले स्यानीटाइजर मास्क अनिवार्य लगाउनु पर्ने, परीक्षा हलमा आकस्मिक प्रयोजनकोलागि कम्तीमा २० थान मास्क र ५ सय एमएल स्यानीटाइजर राख्नु पर्ने लगायतका व्यवस्था गरिएको छ।

 

आयोगले आगामि बुधबार सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाउने तयारी गरेको छ। प्रवक्ता हुमागाईंका अनुसार करिब ५ सय ५० पदमा सहसचिव र उपसचिवमा विज्ञापन खुलाउने तयारी भएको छ।

 

आयोगले हरेक वर्ष असोज महिनाको अन्तिम बुधबारदेखि विज्ञापन खुलाउन सुरु गर्छ। यो क्रम चैतको अन्तिम बुधबारसम्म जारी रहन्छ।

 

आयोगले विज्ञापन खुलाउनु अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगमा रिक्त पदहरूको विवरण पठाउने गर्छ। आयोगका अनुसार यस वर्ष संघीयले उपसचिव र सहसचिवमा रिक्त पदहरूको विवरण आयोगमा पठाइसकेको छ। नागरिकबाट,