हुम्लामा ५ दिनदेखि दुई गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध

काठमाडौं,असोज २७ । हुम्ला जिल्लाका दुई गाउँपालिकामा ५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । सिमकोट -८ धारापोरीस्थित टावरमा खराबी आएका कारण त्यस क्षेत्रका जनता टेलिफोन सेवाबाट वञ्चित भएका छन् ।

 

 नमस्ते टेलिफोनको टावरमा खराबी आउँदा स्याडा, डाँडाफया, चौगनफया, धारापोरी, खोल्सी र नामगा गाउँपालिकाका हेप्का, धिगाँलगायत गाउँ सञ्चार सेवा विहिन भएकाे स्थानीयले जानकारी दिएका छन् ।

 टेलिफोन सेवाले पाँच दिनदेखि काम नगर्दा स्थानीय वासिन्दा सञ्चारबाट विच्छेद भएका छन् भने टाढा रहेका आफन्तसँग टेलिफोनमा कुराकानी गर्न नपाएकाे स्थानीयले बताएका छन्।   

 

 नेपाल टेलिकम सिमकोटमा मर्मतका लागि जानकारी गराउँदा कुनै वास्ता नगरिएको स्थानीयवासीले आरोप लगाएका छन्। नमस्ते टेलिफोनको टावरले राम्रो काम नगर्दा स्थानीयवासीले बारम्बार समस्या भोग्दै आएका छन्।  

 

गाउँमा रहेको टावरले काम नगर्दा स्थानीय वासिन्दाले तीन घण्टाको पैदल हिँडेर टेलिफोन सम्पर्कमा जोडिनुपर्ने बाध्यता रहेको स्थानीय वासिन्दाकाे गुनासाे रहेकाे छ।