पीसीआर परीक्षणका नाममा शुल्क असुल्न स्वास्थ्य मन्त्रालयको निर्देशन: सर्वोच्च भन्छ– परीक्षणका नाममा शुल्क नलिनू

काठमाडौं,असोज २८। सर्वोच्च अदालतको आदेश लत्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका नाममा शुल्क असुल्न अस्पतालहरूलाई निर्देशन दिएको छ ।

 

स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्ट गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त ल्याबले अधिकतम १ हजार शुल्क लिन पाउने निर्णय गरेको हो ।

 

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र टंकबहादुर मुक्तानको इजलासले दिएको आदेशको पूर्ण पाठमा भनिएको छ।

 

‘सरकारले कोभिड सरुवा रोग हो भनी स्वीकार गरिएबाट यसको सबै प्रकारको सेवा निःशुल्क हुनुपर्छ । सरकारी संयन्त्रबाटै परीक्षणको दायर बढाउनू र पूर्णतः निःशुल्क व्यवस्था गर्नू ।

 

सर्वोच्च अदालतले गत १५ असोजमा कोभिड–१९ महामारी भएको हुँदा आकस्मिक र आधारभूत सेवा सरकारी केन्द्र्रहरूमा निःशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न आदेश दिएको थियो ।

 

मन्त्रालयले सो शुल्क परिमार्जन हुँदै जानेसमेत बताएको छ । २८ भदौमा अधिवक्ता लोकेन्द्र ओली र केशरजंग केसीले कोरोना परीक्षण निःशुल्क हुनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

 

मंगलबार आएको सर्वोच्चको पूर्ण पाठमा भनिएको छ, ‘पीसीआर परीक्षणको उद्देश्य व्यक्तिमा संक्रमण छ वा छैन भनी पत्ता लगाउने हो, सरकारी संस्थानहरूले कोही परीक्षण गर्न आयो भने नसोधी परीक्षण गर्नू ।

 

भिसा प्रयोजनका लागि पनि निःशुल्क परीक्षण गर्नू । नेपालले अर्को देशमा कोही आउँदा संक्रमित नआओस् भन्ने चाहन्छ भने अर्को मुलुकले पनि त्यो चाहनु स्वाभाविक ।

 

तर, स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई पत्र पठाई परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्ट गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त ल्याबले शुल्क लिन निर्देशन दिएको छ ।

 

एफडीए, ईयूएबाट मान्यताप्राप्त र स्वास्थ्य सेवा विभागबाट मान्यताप्राप्त कीटहरू मात्र सूचीकृत गर्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।

 

बायोसेफ्टी प्रोटोकल नमुना संकलन विधि तोकेबमोजिम हुने र नमुना संकलन विधि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले तोकेबमोजिम हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

 

परीक्षण पोजिटिभ आएमा काठमाडौंमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, सम्बन्धित स्वास्थ्य कार्यालय र सम्बन्धित व्यक्तिलाई दिनुपर्ने र नेगेटिभ आएमा सम्बन्धित व्यक्तिलाई रिपोर्ट दिइने मन्त्रालयले जनाएको छ ।

 

यस्तै, आरटी–पीसीआर प्रविधिबाट गरिने टेस्टमा समेत सरकारी तथा निजी ल्याबहरूले मनपरी शुल्क असुल्दै आएका छन् ।

 थप ३५५६ जनामा कोरोना

देशभर मंगलबार ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित पुष्टि भएका छन् । योसँगै संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ७८ हजार ७ सय ८० जना संक्रमणमुक्त भएका छन् ।

 

मंगलबार देशभर १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ६३ पुगेको छ । देशभर ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमित रहेका छन् ।

 

काठमाडौं उपत्यकामा मंगलबार २ हजार १ सय २९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जना संक्रमित भेटिएका छन् ।

 

मंगलबार १५ हजार ५ सय ७७ जनाको पीसीआर परीक्षण गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ३ सय ७३ जना कोरोना संक्रमित विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । मन्त्रालयको तथ्यांकअनुसार ६६ जना भेन्टिलेटरमा र ३ सय ७ जना संक्रमित आईसीयूमा छन् ।

 

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १ सय ६९ जना आईसीयू र ५७ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५० जना आईसीयू र चार जना भेन्टिलेटर, प्रदेश १ मा ३९ जना आईसीयू र पाँच जना भेन्टिलेटरमा र प्रदेश २ मा २० जना आईसीयूमा उपचाररत छन् ।

 

यस्तै, सुदूरपश्चिममा चार, गण्डकी प्रदेशमा ६ र कर्णाली प्रदेशमा १९ जना आईसीयूमा उपचाररत छन् ।राजधानी दैनिकमा खबर छ।