अस्पतालले शैया लुकाउँदा गम्भीर संक्रमित पनि आइसोलेसनमै बस्न बाध्य

सांकेतिक तस्वीर

काठमाडौं,कार्तिक २ । अस्पतालले कोरोना भाइरस संक्रमितलाई शैया दिन आनाकानी गर्दै खाली शैयासमेत लुकाउन थालेपछि गम्भीर अवस्थामा पुगेका पनि होम आइसोलेसनमै बस्न बाध्य भइरहेका छन् । निजी तथा सरकारी अस्पतालको अमानवीय व्यवहारका कारण गम्भीर बिरामी निकै सकसमा पर्न थालेका हुन् ।

 

अस्पतालमा शैया हुँदा हुँदै पनि अस्पतालले संक्रमितलाई भर्ना गर्न नमान्दा होम आइसोलेसनमा बस्ने गम्भीर संक्रमितको संख्या बढ्दै गएको हो।

 

गम्भीर प्रकृतिका संक्रमितसमेत अस्पतालमा बेड नपाएपछि ज्यानै जोखिममा हालेर होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् । अस्पतालले आईसीयू र भेन्टिलेटर भए पनि लुकाउँदा समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रभावकारी अनुगमन गर्न सकेको छैन ।

दीर्घरोगी घरमै, अस्पतालले दिँदैनन् बेड

स्वास्थ्य मन्त्रालयले गर्दैन प्रभावकारी अनुगमन

दीर्घरोगी र ज्येष्ठ नागरिकहरू जोखिममा रहेका छन् । संक्रमण बढ्दै गएर दीर्घरोगीलाई जटिल समस्या हुँदा समेत अस्पतालले शøया दिन आनाकानी गर्दै आएका छन् ।

 

उच्च रक्तचापका बिरामीमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च हुने भन्दै स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्र श्रेष्ठले सावधानी अपनाउन आग्रह गरे ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ३८ हजार ७ सय ३७ जना सक्रिय कोरोना संक्रमितमध्ये सबैभन्दा धेरै होम आइसोलेसनमा छन् । शनिबार देशभर २५ हजार ४ सय ३८ जना संक्रमित होम आइसोलेसनमा बस्दै आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।

 

प्रदेश १ मा ४ हजार १ सय २५, प्रदेश २ मा ७ सय ६५, बाग्मती प्रदेशमा १५ हजार ९ सय ९८, गण्डकी प्रदेशमा ९ सय ३०, लुम्बिनी प्रदेशमा २ हजार २ सय ८२, कर्णाली प्रदेशमा ७ सय १९ र सुदूरपश्चिम प्रदेशमा ६ सय २१ कोरोना संक्रमित होम आइसोलेसनमा छन् ।

 

यस्तै, संस्थागत आइसोलेसनमा बस्नेको संख्या १३ हजार २ सय ९९ छ । प्रदेशअनुसार प्रदेश १ मा ४ हजार १ सय २९, प्रदेश २ मा ६ सय ६४, बाग्मती प्रदेशमा ८ हजार १ सय ९२, गण्डकी प्रदेशमा ७ सय ८१, लुम्बिनी प्रदेशमा १ हजार ७ सय ४९, कर्णाली प्रदेशमा ३ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ३ सय ८६ कोरोना संक्रमित संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

काठमाडौं बानेश्वर बस्दै आएका रुकुम मुसिकोटका ३८ वर्षीय युवकलाई एक्कासि उच्च ज्वरो आयो । आफन्तका अनुसार उनलाई एकदमै कमजोर महसुस भयो ।

 

उनलाई गत २७ असोजमा संक्रमण पुष्टि भएको रिपोर्ट प्राप्त भएको थियो । उनी आफन्तसहित वीर अस्पताल पुगे । तर, अस्पतालले बेड नभएको प्रतिक्रिया दिएपछि कोठामै बस्न बाध्य भए । उनका आफन्तले भने, ‘के गर्नु अस्पतालले भर्ना गर्दैन रु अब डाक्टरलाई देखाएर कोठामै हेरचाह गर्नुपर्ला ।’

 कति छन् आईसीयू र भेन्टिलेटरमा ? 

आईसीयू र भेन्टिलेटरमा उपचार गराउनुपर्ने संक्रमितको संख्या बढ्दै गएको छ । शनिबारसम्म देशभर २ सय ९० जना आईसीयू र ६६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

 

प्रदेशअनुसार आईसीयूमा उपचार गराउनेमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा १ सय ५२, प्रदेश १ मा ३४, प्रदेश २ मा १३, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ५३, कर्णालीमा ९ र सुदूरपश्चिम प्रदेशमा नौ जना संक्रमित छन् ।

 

प्रदेश १ मा नौ, प्रदेश २ मा १, बाग्मती प्रदेशमा ४८, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा १ र सुदूरपश्चिम प्रदेशमा ३ जना कोरोना संक्रमित भेन्टिलेटरमा उपचाररत छन् ।

 

केही दिनअघिको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जोखिम अवस्थामा मात्रै अस्पताल जान आग्रह गरेका थिए ।

 

कोरोना भाइरस संक्रमितको संख्या पछिल्ला केही सातायता ह्वात्तै बढेको छ । शनिबार देशभर ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या १ लाख २९ हजार ३ सय चार पुगेको छ ।

 

देशभर संक्रमणमुक्त हुनेको संख्या ८९ हजार ८ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा १ हजार ८ सय संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ३८ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन् ।

 

पछिल्लो २४ घण्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर ७ सय २७ कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म १२ लाख ६९ हजार ६ सय ५ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हाल ४ हजार ७ सय १५ जना क्वारेन्टिनमा रहेका छन् ।

 

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ७ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार काठमाडौंमा १ हजार ४ सय ५१, ललितपुरमा १ सय ५२ र भक्तपुरमा १ सय ४३ जनालाई कोरोना संक्रमण देखिएको छ ।राजधानी दैनिकमा खबर छ।