निरंकुश बाटो समातेका ओलीको आयु सकियो: माधव नेपाल

काठमाडौं,पुस १४ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सुखभन्दा बढी दुःख दिएको बताउनुभएको छ । अध्यक्ष नेपालले निरंकुश बाटो समातेका केपी ओलीको आयु सकिएको बताउनु भयो ।

 

मंगलबार नेकपा प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनतालाई सुख कम र दुख बढी दिएको टिप्पणी गर्नुभएको हो ।

 

प्रधानमन्त्री ओलीमा कम्युनिष्ट आचरण नभएको भन्दै उहाँले अर्काको खिस्सीट्युरी गर्ने, सल्लाह तथा सामूहिकतामा विश्वास नगर्ने निरंकुश चरित्र रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको कदम आफुहरुलाई स्वीकार नभएको अध्यक्ष नेपालको भनाई छ ।

 

यो कदम राजनीतिक, जनभावनाको हिसाबले, नेकपा पार्टीको निर्णयको हिसाबले कुनैपनि रुपमा अनुपयुक्त रहेको उहाँको तर्क छ ।

 

प्रधानमन्त्री ओलीले पार्टीको निर्णय समेत नमानेको कारण पार्टी अध्यक्षबाट हटाएको तर सुध्रिनु हुन्छ कि भनि हालसम्म पार्टी सदस्यबाट भने कारबाही नगरिएको अध्यक्ष नेपालले बताउनुभयो ।

 

केपी प्रवृतिको नास गराउनुपर्ने बेला आएको भन्दै यसका निम्ति सम्पूर्ण लोकतान्त्रिक शक्ति एक भएर हातेमालो गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

 

प्रतिनिधि सभा विघटन भएको अवस्थामा सरकार कामचलाउ हुने भएपनि सरकारले हालसम्म कामचलाउ भएको घोषणा नगरेको उहाँको भनाई छ ।

 

ओली पक्षले विभिन्न लोभ, लालचमा मानिसहरु तान्ने प्रयास गरेको भएपनि बालुवाटारको गुटको भेला भएको र आफुहरु आधिकारीक रहेको बताउनुभयो।

 

उहाँले इतिहासको पांग्रा पछाडी धकेल्न खोजिएको भन्दै नेपालको इतिहास पछाडी जान नसक्ने बताउनुभयो । प्रतिनिधि सभाको पुर्नवहाली गराउन सबै राजनीतिक दल एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो ।