राजा महेन्द्रको ‘कु’ बिपिको राष्ट्रीय मेलमिलाप नीति

-यमराज तिमिल्सिना (आस्तिक)

  • पहिलो जननिर्वाचित सरकारमाथि राजा महेन्द्रले ‘कु’ गरेपछि निर्वासनमा रहनुभएका जननायक बिपि कोइराला आठ वर्षको निर्वासनपछि वि. सं. २०३३ साल पुष १६ गते मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको थियो ।

हरेक वर्ष नेपाली कांग्रेसले पुष १६ लाइ राष्ट्रिय मेलमिलाप दिवसको रूपमा मनाउँने गर्दछ ।

 

हेरक वर्ष त्यत्तिकै महत्व रहदै आएको मेलमिलापको नीति अहिले आफ्नै दुइ तिहाइ जनमतप्राप्त सरकार आफै विघटन गर्ने र देश अस्थिरतातर्फ धकेल्ने दुश्प्रयास गरेको समयमा झनै सान्दर्भिक देखिएको छ ।

 

वर्तमान सन्दर्भसँग मिल्ने कुरा विपिले उहिले नै गरिसक्नुभएको थियो ।प्रत्येक राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसका बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ । हामीलाई लाग्छ, आज नेपालमा त्यो घडी आएको छ ।

 

यस राष्ट्रिय सङ्कटको घडीमा हामी सबैले बितेका अप्रिय विवाद र अनुभव र मतभिन्नतालाई बिर्सेर र समाप्त गरेर एकताको सूत्रमा बाँधिनुपर्छ । राष्ट्र रहेन भने हामी रहन्नौँ ।

 

चुनाव अघि राजा महेन्द्रले बिपीलाई पटक पटक सोधिरहनुहुन्थ्यो रे । तिम्रो पार्टी कति सिट जित्छ ? बहुमत आउँट ? वि.पीको उत्तर हुन्थ्यो ३५/४० त आउँछ मिहिनेत गरे ५०/६० सम्म जित्न सक्छाैँ । तर कांग्रेसले बहुमत होइन दुइ तिहाइ ७४ सिट हात पार्यो ।

 

त्यसपछि चुनावी परिणाम आएको डेढ महिना बितिसक्दा पनि राजाले संसद र मन्त्रीपरिषद गठनको लागि वास्तै नगरेपछि बिपीले “म प्रधानमन्त्री बन्दिन बरू सुबर्णलाई बनाउँ सरकार छिटो गराैँ” भनेपछि मात्रै राजाले तिमी डाइनामिक छाै, तिमी नै प्रधानमन्त्री बन भनेपछि वि.पीको नेतृत्वमा मन्त्रीपरिषद् गठन भयो । सरकार गठन लगत्तै महेन्द्रले सैनिक ऐन ल्याइ सेनालाई पूर्णरूपमा आफ्नो अधिनमा राख्नुभयो ।

 

त्यसपछि मन्त्रीहरूका हरेक क्रियाकलापमा निगरानी राख्न थाल्नुभयो । कोइरालालाइ दोष मात्र देखाउने, तिम्रा मन्त्री गतिला छ‌ैनन्, काम भएन भन्दै व्यर्थ आलोचना गर्ने, हरेक विभागका कामको हिसाब खोज्न थाल्नुभयो ।

 

वि.पीलाई दोषी देखाउन जति कोशिस गर्दा पनि कतै नभेटेपछि एकदिन राजाले सोध्नुभयो “तिम्रो मुलुक बनाउने खाका के छ ? वि.पीले आफ्नो मध्यमवर्गीय परिवार जस्तै सबै निम्नवर्गको निर्बाहको अवस्था बनाइदिने र यसका लागि आफूले तिनपटक चुनाव जित्नुछ भन्नुभयो ।

 

स्मरण रहोस् सत्ता सम्हाले पछि अबको पन्ध्र वर्षमा सबै नेपालीको आयस्तर मेरै जत्तिको हुनेछ भन्नुभएको थियो । वि.पीको समकालिन भारतीय नेताहरू बराबरकै उचाई, बिद्वता, सुझबुझ, गतिशिल र अन्तराष्ट्रिय व्यक्तित्व थियो ।

 

 सबै तहका मान्छेसँग घुलमिल हुनसक्ने क्षमता, प्रगतिशिल चेतना देखेर राजालाई बिपीको अघि आफू पुड्को भएको महशुस हुन्थ्यो । बिपीको लोकप्रियता बढ्दै गएमा आगामी हरेक चुनाव जित्दै जाने र आफुलाई राणाहरूले झैँ नाम मात्रको श्री ५ बनाइदिने डरले सेनाको बलमा दुइतिहाईको जननिर्वाचित सरकार अपदस्थ गरियो ।

 

मेलमिलाको नीति लिएर फर्किदा बिपिको प्रष्ट विचार थियो, कोरा नाराले मात्र हुनेभए बितेका १३ वर्षमा राष्ट्रिय एकता यसरी छिन्नभिन्न भएर यस सोचनीय स्थितिमा देशले पुग्नुपर्ने थिएन ।

 

आज देशमा स्वार्थपरायणता, साम्प्रदायित्व, व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको बोलाबाला छ । यस्तो परिस्थितिमा सबभन्दा पहिले हत्या राष्ट्रियताको हुन्छ । हिजोसम्म हाम्रो सङ्घर्ष जनताको प्रजातान्त्रिक अधिकारको निम्ति मात्र थियो ।

 

त्यसो हुनाले हामीले प्रजातान्त्रिक पक्षमा मात्र बढी जोड दियौँ । आज यसमा एउटा नयाँ आयम थपिएको छ । नेपाली काँग्रेसलाई आज दोहोरो जिम्मेवारी आइपरेको छ ।

 

त्यो दोस्रो जिम्मेवारी हो देशको अस्तित्वको रक्षा गर्ने । कोइरालाले थप भन्नुभएको छ हामीले यो कुरा पनि बुझनुपरेको छ कि राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुन सक्छ र प्रजातन्त्रको जगमा देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण आर्थिक व्यवस्थामा मात्र बलियो हुनसक्छ । तसर्थ हाम्रो दृष्टिमा राष्ट्रियता, प्रजातन्त्र र विकास उन्नति एक अर्कामा आधारित तत्व हुन् ।

 

बिपिले राष्ट्र सङ्कटमा परेका बेला विपरित ध्रुबका राजनीतिक विचार भएका कम्युनिष्ट र निरङ्कुश पञ्चायत व्यवस्थाका हिमायती राजासँग राष्ट्रिय चुनौतीको सङ्कटलाई सामना गर्न कार्यगत सहमति तथा सहकार्य गरी राष्ट्रिय मिलापको नीति ल्याउनुभएको थियो ।

 

 बिपि स्वदेश फर्कदा नबुझेर अधिकांश वामपन्थीले ‘राजासमक्ष आत्मसमर्पण’ गरेको भने त कतिपयले भारतमा इन्दिरा गान्धीले इमर्जेन्सी लगाएपछिको बाध्यात्मक परिस्थितिको उपजसम्म भने । 

 

पञ्चहरूको समूहले त बीपीलाई ‘फाँसी दिनुपर्छ’ भनी पञ्च भेलाबाट प्रस्ताव नै पारित गरेको थियो । बुझ्नुपर्ने कुरा के हो भने बिपि राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनु अघि बङ्गलादेशको उदय भएको, सिक्किम भारतमा विलय भएको र सन् १९५० तिर तिब्बतमा चिनियाँ लालसेनाको प्रवेशपछि भारत र चीन दुवै आमनेसामने भएपश्चातको परिस्थिति सन् १९६२ को युद्धसम्म आइपुगेको थियो ।

 

त्यस्तै जटिल स्थिति अमेरिका र सोभियतसंघ द्वन्द्व र शीतयुद्धले जन्माएको अफगानिस्तानको थियो । दक्षिण एसिया ‘अशान्त क्षेत्र’ बन्दै गएको र बिदेशी चलखेल बढिरहेको निष्कर्ष सहित नेपाल त्यो स्थितिमा पुग्नु नपरोस् भन्ने भित्रि मनसाय रहेको थियो ।

 

 यीनै कुराको सम्यक दृष्टि परेको हुँदा स्वदेश फर्के मृत्युदण्ड दिइने कुरालाइ पर्वाह नगरि मृत्य रोजेर स्वदेश फर्कनुभयो । राष्ट्रियता कमजोर भयो भने मुलुकको सार्वभौमताको अस्तित्व समाप्त हुनेछ ।

 

जनताको हक अधिकारलाई सुनिश्चित गर्न र लोक्तन्त्रलाई संस्थागत गर्न राष्ट्रियता बलियो हुनुपर्दछ ।  बाह्य शक्तिसित जुध्न आमनेपालीहरूको एकताको आवश्यकता रहेकोछ भन्नुभयो । 

 

मेलमिलापको नीतिभित्र राजा राजनैतिक दल, जनता सबै अटाउँथे र प्रजातान्त्रिक समाजवाद विधिको शासन र सार्बभौम सम्पन्न नेपाली जनता हुन्थे । यी र यस्तै कुरालाइ गम्भीरताका साथ लिन सजग गराउँदै मेलमिलापको नीति लिएर बिपि स्वदेश फर्कनुभएको थियो ।

 

बिपिको विचारमा नेपालमा राजाले आफू सुदृढ रहेको महसुस गर्नुभएको छ र विदेशमा पनि राजाको स्थिति राम्रै छ । त्यस्तै भारतमा इन्दिरा गान्धी एकदम बलियी हुनुहुन्थ्यो ।

 

पाकिस्तानको राष्ट्रपतिमा ‘जनताबाट निर्वाचित, इतिहासमा सबभन्दा लोकप्रिय’ जुल्फीकरअली भुट्टो हुनुहुन्थ्यो । अफगानिस्तानमा राजा हटेपछि दाउद खाँले राष्ट्रपति भएर शासन चलाइरहनुभएको थियो ।

 

त्यहाँ पनि विदेशी शक्तिहरूले सहायताको खोलो बगाइरहेका थिए । श्रीलंकामा श्रीमती भण्डारानायके हुनुहुन्थ्यो, जसले पछि चुनाव हार्नुभयो । पाकिस्तान र अफगानिस्तानको स्थिति पछि कुन हालतमा पुग्यो स्पष्टै छ ।

 

दक्षिण एसियमा जोजो शक्तिशाली देखिन्थे तिनले एकएक गर्दै या त चुनाव हारे या सत्ताबाट हटाइए या हत्या गरिए या त फाँसीमा चढाइए । यस्तै नेपालमा पनि नहोला भन्न सकिन्न भन्ने कुरा बिपिले बुझिसक्नुभएको थियो र स्वदेश फर्कनुभयो ।

 

मेलमिलापको नीति लिएर स्वदेश फर्किदा राजा र मेरो घाँटी जोडिएकोछ भन्ने कुरा गरेकोले बीपी राजतन्त्रको पक्षपाति हुँनुहुन्थ्यो भन्ने गरिन्छ । तर बीपीको स्पष्ट मान्यता थियो कि कानून नमान्ने राजालाई हटाउँन नसक्नु जनताको लाचारी हुनेछ ।

 

 राजालाई प्रजातन्त्र नचाहिए मलाई/नेपाली काँग्रेसलाई पनि राजा वा राजतन्त्र चाहिदैन” भन्नुभएको थियो । वि.पी समुन्नत वा समृद्ध राष्ट्रका लागि राष्ट्रवादी र प्रजातन्त्रवादीका बिच न्यूनतम एकता र सहअस्तित्व चाहानुहुन्थ्यो ।

 

राजनीति वा सत्ताका लागि प्रतिस्पर्धा गर्दै गरोँला तर राष्ट्र र राष्ट्रीयताको लागि राष्ट्रवादी र प्रजातन्त्रवादी बिचको बलियो एकतालाई अपरिहार्य ठान्नुहुन्थ्यो । वि.पीका आलेखहरूमा राजसंस्थाले अन्तरिम महत्व पाएको छ तर अनन्तकालीन स्वीकारोक्ति पाएको छैन ।

 

लोकतन्त्रका लागि आवश्यक संस्थाहरू निर्माण नभइसकेको अवस्थामा संवैधानिक राजसंस्था लोकतन्त्रको संस्थागत विकासका लागि सहयोगी हुने अपेक्षा चाहिँ थियो ।

 

आफूमाथि मृत्युदण्डको सजाय हुँदाहुँदै फर्कनुले राष्ट्र र राष्ट्रियताका लागि जीवनसँग खतरा मोल्न सक्ने नेताका रूपमा उभ्यायो । विदेशी जोखिमभन्दा स्वदेशी जोखिमको सिकार हुनु नै गौरव र प्रतिष्ठाको विषय हो भन्ने सन्देशपनि दियो ।

 

नेपालको सार्वभौमिकता रक्षा गर्नु सबैको कर्तव्य हो । जो जहाँ जसरी रहेपनि नेपाली राष्ट्रियताको बिन्दुमा सबै मिल्नुपर्छ, राष्ट्रियताजस्तो कुरा प्रजातान्त्रिक शक्तिहरूसँग मात्र नभई राजसँग पनि छ भन्नेर सन्देश गराउँनु थियो ।

 

 वि.पी गतिशील राजनेता हुनुहुन्थ्यो भन्ने कुरा उहाँका आलेख र साहित्यिक कृतिले नै अझ स्पष्ट पारिदिएका छन् । (प्रध्यापक यदुनाथ खनालले बिपिमाथि गर्नुभएको टिप्पणी मननीय छ, ‘उनी (बीपी) एकसाथ राजनीतिशास्त्री (पोलिटिकल साइन्टिस्ट), राजनेता (पोलिटिसियन) र नीतिद्रष्टा (स्टेट्सम्यान) थिए ।

 

वि.पीलाइ राजाले अपदस्थ गर्ने कुचेष्टा नगरेको भए देश आज एसियाकै एक विकशित देशका रूपमा चिनिने थियो र राजसंस्थापनि बाँचिरहेकै हुनेथियो ।

 

विकसित देशहरूले एक शताब्दी लगाएर गरेको विकासको अनुभवबाट प्ररेणा लिएर नेपालले एक दशाब्दीभित्रै तिनिहरूको हाराहारीमा पुग्नसक्छ भन्ने दृढ अभिलाशा रहेको थियो ।