शैक्षिक खर्चका नाममा सात अर्ब बाहिरियो

काठमाडौं,पुस १६।कोरोना महामारीका कारण विदेशमा उच्च शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले रोजगारी गुमाएका कारण नेपालबाट विदेशिने शैक्षिक खर्च उच्च देखिएको छ । जब कि महामारीमा विदेशमा उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको संख्यामा ह्वत्तै कमी आएको छ।

तर नेपालबाट विदेशिने शैक्षिक खर्च घटेको छैन । विगतमा विद्यार्थीहरु विदेशमा अध्ययन गर्न जाँदा आफ्नो शैक्षिक खर्च आफैले काम गरेर जुटाउने गर्ने गरेका थिए । भने यो वर्ष कोरोना महामारी जोखिम बढेसँगै विद्यार्थीहरुले रोजगारी गुमाएका छन् । यसले गर्दा उनीहरु अभिभावकमाथि निर्भर हुनु परेको अभिभावकहरुकै गुनासो छ ।

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयकाका वैदेशिक अध्ययन अनुमति (एनओसि )शाखा प्रमुख दिलनाथ पुरीका अनुसार यस आर्थिक वर्षमा साउनदेखि कात्तिक मासान्तसम्ममा नोअबजेक्सन लेटर एनओसी लिने विद्यार्थीहरुको संख्यामा गत वर्षको भन्दा ६ हजारले घटेको छ ।

 

यो अवधिमा यस वर्ष १२ हजार २ सय ५५ रहेको छ । जब की यही अवधिमा गत वर्ष १८ हजार ९ सय ११ ले एनओसी लिएका थिए । तर यो वर्ष करिब ७ अर्ब रुपैयाँ विदेशमा अध्ययनरत विद्यार्थीको नाममा शैक्षिक खर्चको रुपमा बाहिरिएको तथ्यांक छ ।

 

शाखा प्रमुख पुरीले एनओसी लिने सबै विद्यार्थीहरु विदेश अध्ययनमा जानकै लागि एनओसी लिने गर्छन् । तर यस वर्ष कोरोना महामारीको उच्च जोखिमका कारण शैक्षिक गनतब्य देशहरुमा शैक्षिक संस्थाहरु बन्द भएको कारण एनओसी लिनेहरु ह्वात्तै घटेको उनले बताए ।

 

विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको अध्ययनसँगै रोजगारी प्रमुख हो । तर यस वर्ष अमेरिका, जापान, अष्ट्रेलिया वेलायत तथा यूरोपियन देशहरुमा कोरोना महामारीको दोस्रो र तेस्रो लहरको जोखिम बढेपछि विद्यार्थीहरुले विदेशमा रोजगारी गुमाएको तिनका अभिभावकहरुको गुनासो छ ।

 

मन्त्रालयले असार महिनामा एनओसी अनलाइन उपलब्ध गराउने निर्णय गर्‍यो । भदौंदेखि एनओसी अनलाइनबाट उपलब्ध भयो,’ शाखा प्रमुख पुरीले नागरिकसँग भने ‘हाल एनओसी तीन किसीमले लिने गरेका छन् ।

 

विदेशमा अध्ययन गरीरहेका तर रोजगारी गुमाएर खाना, बस्ने र शुल्क तिर्न नसकेकोलाई रकम पठाउन, अर्को अध्ययन गर्न विदेशै जाने र तेस्रो अनलाइनबाट विदेशमा यो वर्ष भर्ना भएका तर नेपालमै बसेर अनलाइन कक्षा संचालन गरिरहेका विद्यार्थी छन् ।

 

उनले थपे ‘शैक्षिक गन्तब्य रहेका देशहरुमा कोरोना महामारीको दोस्रो र तेस्रो लहर देखिएपछि त्यतातिर अन्तर्राष्ट्रिय उडानहरु पनि छैनन् । शैक्षिक परामर्स दाताहरुले पनि विदेशी अध्ययनको लागि फुलफेजमा काम गर्न नसकेकोले विद्यार्थी घटेका हुन् ।

 

तर राष्ट्र बैंकका अनुसार यस वर्ष विदेशमा शैक्षिक खर्चको नाममा पठाइने रकममा कमी आएको छैन । बैंकका प्रवक्ता डा। गुनाकर भट्टका अनुसार यस वर्ष विदेशमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक खर्चको नाममा साउनदेखि कात्तिक मसान्तसम्म ६ अर्ब ८० करोड रकम बाहिरएको छ । उनले यस आर्थिक वर्षमा विदेशमै अध्ययन गर्ने विद्यार्थीको लागि शैक्षिक खर्च बाहिरिएको देखिएको जनाए । नागरिक दैनिकमा खबर छ।