राष्ट्रिय महिला लिग फुटबलमा आजको दोस्रो खेल त्रिभुवन आर्मीको फराकिलो जित

काठमाडौं,माघ १६। राष्ट्रिय महिला लिग फुटबलमा दोस्रो जित विभागीय टिम त्रिभुवन आर्मी क्लबले निकालेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज रौतहटको चन्द्रपुर नगरपालिकालाई १० शुन्य गोलको भारी अन्तरले पराजित गर्दै आर्मीले दोस्रो जित निकालेको हो ।

 

आर्मीको फराकिलो जितमा शर्मिला थापा र रश्मी घिसिङले समान ४, ४ गोल गरेका थिए । त्यस्तै विमला चौधरी र सपना लामाले एक एक गोल थपेका थिए ।

 

चन्द्रपुरविरुद्ध एकपक्षीय जित निकाल्ने क्रममा आर्मीले पहिलो हाफमा ४ गोल गर्दा दोस्रो हाफमा ६ गोल गर्न सफल भएको थियो ।

 

चन्द्रपुरविरुद्ध खेलको तेस्रो मिनेटमै आर्मीले अग्रता बनाएको थियो । त्यस्तै खेलको १५औं मिनेटमा शर्मिलाले गोल गर्दा आर्मीको अग्रता २ शुन्यमा पुगेको थियो ।

 

शर्मिलाले नै खेलको ३५औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ३ शुन्यको अग्रता दिलाइन।त्यस्तै खेलको ४४औं मिनेटमा सपनाले गोल गर्दा पहिलो हाफमा आर्मीको अग्रता ४ शुन्यमा पुगेको थियो । त्यस्तै शर्मिलाले खेलको ५१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा आमर्मीको अग्रता ५ शुन्य पुगेको थियो ।

 

रश्मीले खेलको ५९औं मिनेटमा गोल गर्दा आर्मीको अग्रता ६ शुन्य पुग्यो । खेलको ६२औं मिनेटमा रश्मीले डिबक्स बाहिरबाटै आकर्षक गोल गर्दा आर्मीले ७ शुन्यको अग्रता बनायो ।

 

खेलको ६४औं मिनेटमा शर्मिलाको हेड गोलमा परिणत हुँदा आर्मीले आठौं गोल गर्यो ।त्यस लगत्तै खेलको ६६औं मिनेटमा रश्मीले ह्याट्रिक पुरा गर्दा आर्मीले ९ शुन्यले अघि रह्यो।

 

त्यसपछि खेलको ८४औं मिनेटमा रश्मीले व्यक्तिगत चौथो गोल गर्दै आर्मीलाई १० शुन्य गोल अन्तरले जित दिलाईन । रश्मीले ७ मिनेटभित्र ह्याट्रिक पुरा गरेकी थिइन।

 

यो जितसंगै आर्मी लिगको दोस्रो स्थानमा उक्लिएको छ। आर्मीले ४ खेलमा ७ अंक जोडेको छ । चन्द्रपुर ४ खेलमा ३ अंक जोडेर लिगको छैटौं स्थानमा रहेको छ।