कर्णाली राजमार्गमा चालककै कारण जोखिम

जुम्ला,माघ १९।कर्णाली राजमार्गमा सार्वजनिक सवारीसाधनको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । चालकले रातिको समयमा मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउन थालेपछि कर्णाली राजमार्गको यात्रा झन असुरक्षित बन्दै गएको हो ।

 

एक लेनको साँघुरो सडकमा अत्यधिक सवारी चाप र सडक अतिक्रमणको समस्या रहेको राजमार्गमा चालकहरूको रातिको समयमा मापसे गरी चलाउन थालेपछि यात्रुका लागि सडक झन असुरक्षित बनेको हो ।

 

साँघुरो सडक त्यसैमाथि मनपरी रूपमा सडकमै राखिएका ढुंगा, गिट्टी, बालुवालगायतका निर्माण सामग्रीले राजमार्गको सडक साँघुरिँदै गएको छ भने मापसेसँगै यसको कारण पनि दुर्घटनाको जोखिम बढेको छ ।

कर्णाली राजमार्गको जुम्ला खण्डमा चलाउने ठूला तथा साना सवारीका अधिकांश चालकले रातिको समयमा मापसे गरेरै सवारी चलाउने गरेको पाइएको छ ।

 

शनिवार राति ८ बजे प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले चन्दननाथ नगरपालिका ९ उम्गाड नजिक गरेको सवारी अनुगमनमा अधिकांश चालकले मापसे गरेर सवारी चलाएको भेटेका थिए ।

 

प्रमुख जिल्ला अधिकारी थापाले रातिको समयमा ट्राफिक जाँच नहुने र चालकहरूले लापरबाही गरेकै कारण दुर्घटनाको जोखिम बढेको बताए ।

“मापसे गरी सवारी चलाउने चालककै कारण धेरै ठूला दुर्घटना भएका छन्, जुम्लामा पनि यस्तो समस्या देखियो । अब नियमित चेकजाँच गर्नुको विकल्प छैन,” उनले भने, “मापसेसँगै कर्णाली राजमार्गमा चालकको लापरबाही र निर्माण सामग्री मनपरी रूपमा राख्दा दुर्घटना बढेको छ । चेकजाँचमा कडाई र सडक अतिक्रमण गर्नेहरूलाई पनि नियमन गर्ने तयारीमा छौं ।

अनुगमन गर्ने क्रममा मापसेगरी सवारी चलाएका पाँच जनालाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक नविन थापा मगरले बताए । 

 

शनिवार राति मापसे गरी जिप, अटो तथा मोटरसाइल चलाएका चार जना र एक जना मापसे गरेका यात्रुलाई नियन्त्रणमा लिइएको हो ।

 

प्रशासनमा प्रतिव्यक्ति एक हजार र ट्राफिकमा मापसे गरी सवारी चलाए बापतको जरिवाना बुझाएर छोडिएको छ,” उनले भने । शनिबार राति नै मापसे गरी बालुवा बोकेर ल्याएको एकजना ट्याक्टर चालक भने भागेको उनको भनाइ छ ।

 

उनले भने, “साइट नछोड्ने, ट्राफिक नियमितविपरीत ओभरटेक गर्ने, कागजातबिनै मापसेको तालमा द्रुतगतिमा सवारी चलाउने चालककै कारण दुर्घटना बढेका छन् भने अर्कोतर्फ स्थानीयले सडकमै मनपरी रूपमा निर्माण सामाग्री राख्दा सडक साँघुरिएर जोखिम बढेको छ ।

मापसे जाँच गर्ने मेसिन छैनन्

जुम्लामा मापसे गरेर सवारी चलाउने चालकहरूको संख्या बढ्दैछ । रातिको समयमा मापसे गर्ने ओभरस्पिड गाडी कुदाउने गरेकै कारण दुर्घटनाको जोखिम बढेको छ । तर, जुम्लामा भने मापसे जाँच गर्ने मेसिन नभएको पाइएको छ ।

 

ट्राफिक कार्यालयका प्रहरी हवल्दार कुशराज शाहीका अनुसार मापसे गर्ने ९बे्रथलाइजर० मेसिन जुम्लामा छैनन् । चालकहरूको लापरबाही बढेपछि अहिले तीनवटा मेसिन माग गरिएको उनको भनाइ छ । हालका लागि मेसिन नहुँदा जेचजाँच प्रभावित भएको छ । मेसिनबिना हचुवाको भरमा जाँच नहुने बताइएको छ ।

 

ट्राफिक कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको हालसम्म १४ वटा सवारी दुर्घटना भएका छन् । चालकहरूकै लापरबाहीका कारण बढी सवारी दुर्घटना भएको हवल्दार शाहीले बताए ।

 

उनका अनुसार १४ वटा दुर्घटनामा परी २७ जना घाइते र २ जनाको मृत्यु भएको छ । यी सबै दुर्घटनाका कारण चालक नै हुन् ।

 

मापसे गर्ने, ओभर स्पिड चलाउने, क्षमताभन्दा बढी यात्रु हाल्ने चालकलाई नियन्त्रण लिन नियमित जाँचमा कडाई गरिने उनको भनाइ छ ।

 

चालू आवको हालसम्म कारबाही गरिएका ८ सय ३१ वटा सवारीबाट ८ लाख ३५ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय जुम्लाले जनाएको छ ।कारोबार दैनिकमा खबर छ।