सार्वजनिक यातायातको भाडा दरलाई ‘अटो मोसन’ प्रणालीमा राख्न माग

काठमाडौँ, फागुन ९। सार्वजनिक यातायातको भाडादरलाई ‘अटो मोसन’ प्रणालीमा लैजान यातायात व्यवसायीले माग गरेका छन् ।

 

वैज्ञानिक भाडादरको व्यवस्था भए पनि कार्यान्वयन नहुने र हप्तैपिच्छे पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुन थालेपछि व्यवसायीले यस्तो माग गरेका हुन् ।

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, “गाडी चल्नसक्ने अवस्था रहेन । २०६८ सालदेखि पार्टपुुर्जातर्फको ६५ प्रतिशतको भाडा समायोजन हुनै सकेको छैन ।

 

हप्ताहप्तामा डिजेलको मूल्य बढ्छ, त्यस कारण आयल निगमले चलाएको पेट्रोलियम पदार्थको स्वचालित मूल्यसूचीजस्तै यातायातको भाडादरलाई पनि सोही प्रणालीमा राखियो भने कसैलाई अप्ठ्यारो हँुदैन, सिस्टमले काम गर्छ । 

सार्वजनिक यातायातको भाडादर अटो मोसनमा सञ्चालन गरिए धेरै कुराको सुधार हुने व्यवसायीको दाबी छ । यात्रुले अनलाइनमै भाडादर हेर्न सक्नुका साथै त्यसबाट नठगिने पनि व्यवसायीले दाबी गरेका छन् ।

 

भाडा वृद्धिका लागि सरकारसँग सधैँ माग गरिहनुपर्ने अवस्थाको पनि अन्त्य हुने बताउँदै व्यवसायीले सरकार, व्यवसायी र यात्रु कोही पनि समस्यामा पर्न नपर्ने गरी संरचना निर्माण गर्दा दीर्घकालीन रूपमा समस्याको समाधान हुने बताइएको छ ।

निजी क्षेत्रको लगानीमा परिरहेको नोक्सानी र असरलाई सरकारले मूल्याङ्कन गर्न नसकिरहेको व्यवसायीको गुनासो छ । लामो समयको बन्दाबन्दीपछि सञ्चालनमा आएको सार्वजनिक यातायात क्षेत्रलाई राहत दिनुका साटो मूल्यवृद्धि गरेर व्यवसाय नै गर्न नसक्ने अवस्थामा पु¥याइएको उपाध्यक्ष स्वाँरको भनाइ छ ।

 

उहाँको प्रश्न छ, “सरकारलाई घाटा हुनेबित्तिकै मूूल्यवृद्धि गर्ने तर हामी व्यवसायी चाहिँ जहिले पनि घाटामै काम गर्नुपर्ने, कहिलेसम्म हामीले सहेर बस्नुुपर्ने हो ?

सार्वजनिक यातायात व्यवसायीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

 

एक हप्तामै दुुई पटक डिजेल पेट्रोलको मूल्य बढाइएको तर यातायात व्यवसायीका समस्याप्रति बेवास्ता गरिएको भन्दै उनीहरूले आन्दोलनको चेतावनी दिएका हुन् ।

नेपाल आयल निगमले डिजेल पेट्रोलको मूल्यवृद्धि गरेपछि यातायात व्यवसायीले भाडा समायोजन गर्नुपर्ने माग गर्दै आएका छन् ।

 

हप्तैपिच्छे पेट्रोलको मूल्य बढाइएको र गाडीका पार्टपुर्जाको मूल्य पनि वृद्धि भएको अवस्थामा भाडा समायोजनको विकल्प नभएको महासङ्घको दाबी छ ।

 

कोरोनाले थला परेको यातायात क्षेत्रलाई सुचारु गर्न वैज्ञानिक भाडादर निर्धारण नगर्ने हो भने थप समस्या हुने व्यवसायीको दाबी छ ।

महासङ्घले एक हप्ताअघि विज्ञप्ति जारी गरी फागुन ८ सम्म मूल्यवृद्धि फिर्ता लिन अल्टिमेटम दिएको थियो तर सरोकारवाला निकायले मूल्यवृद्धि फिर्ताको कुनै पहल नगरेको भन्दै चरणबद्ध दबाबमूलक आन्दोलन गर्नुपर्ने अवस्था आएको महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुुभयो ।

 

महासङ्घको तत्काल कार्यसम्पादन सचिवालयको बैठक बसी मूल्यवृद्धिका विरुद्ध आवश्यक निर्णय गरिने उहाँले जानकारी दिनुुभयो ।

सार्वजनिक सवारी साधनको कर, रुट इजाजत दस्तुर, जाँचपास, बीमा प्रिमियमलगायत सवारी साधनका पार्टपुर्जा, टायर, लुब्रिकेन्टमा अत्यधिक मूल्यवृद्धि भएको तर सवारी कर बीमालगायतमा कुुनै पनि राहत र छुटको सुविधा उपलब्ध नगराइएको व्यवसायीको गुनासो छ ।गोरखापत्र दैनिकमा खबर छ।