वैदेशिक रोजगारीमा ठगीः म्यानपावर सञ्चालक जेल, पीडितको तीन करोड डुब्यो

काठमाडौं,फागुन १४।बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भन्दै भेरी ओभरसिज म्यानपावरले तीन करोड रूपैयाँ ठगेको पाइएको छ।

 

एक सय ५० जनाभन्दा बढीलाई युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै उक्त म्यानपावरले ठगी धन्दा चलाएको हो।

 

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार अहिलेसम्म एक सय ५० जनाले उक्त म्यानपावरले ठगी गरेको रकम फिर्ताको माग राखी निवेदन दिएका छन्। ‘उजुरीका आधारमा तीन करोड रूपैयाँ असुल गर्नुपर्ने देखिएको छ,’ उनले भने।

 

यसरी ठगिनेमा धेरैजसो नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीमा कार्यरत तथा जागिर छाडेका छन्। उक्त म्यानपावरले पोर्चुगल, रोमानियालगायत युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने भन्दै एकजनाबाट दुईदेखि १५ लाख रूपैयाँसम्म असुल गरेको थियो।

 

अफगानिस्तान जान भन्दै उक्त म्यानपावरलाई तीन लाख रूपैयाँ बुझाएका सशस्त्र प्रहरीका पूर्ववरिष्ठ हबल्दार मधुकुमार ठकुरीले धेरैजसोलाई मासिक एक लाख रूपैयाँ पारिश्रमिक पाइने भन्दै म्यानपावर सञ्चालक र कर्मचारीले प्रलोभनमा पारेका थिए।

 

ठकुरीलाई उक्त म्यानपावरले कुल पाँच लाख रूपैयाँ तिर्नुपर्ने सर्त राखेको थियो। ‘चिनेजानेका धेरैजसो साथी सोही म्यानपावरलाई पैसा तिरेर वैदेशिक रोजगारीमा जान तयार भएका रहेछन्,’ उनले भने, ‘मैले पनि सशस्त्र प्रहरीमा काम गरेको १६ वर्ष पूरा भइसकेको थियो। अनि जागिर छाडेर विदेश जाने निर्णय गरें।

 

उक्त म्यानपावरले ठकुरीसँग सुरुमा तीन लाख र अफगानिस्तान पुगेपछि थप दुई लाख रूपैयाँ बुझाउने सर्त राखेको थियो। ‘तीन लाख रूपैयाँ लिएपछि म्यानपावरले अफगानिस्तान जान भन्दै भारतको दिल्ली पुर्‍यायो,’ उनले भने, ‘एक सातासम्म दिल्लीमा राखेर फर्र्काएपछि बल्ल बदमासी गर्दैछ भन्ने आशंका लाग्यो।

 

युरोपका विभिन्न मुलुक र अफगानिस्तान पठाउने नाममा ठूलो रकम असुल गरिरहेकै बेला म्यानपावर सञ्चालक रामेश्वर सिंह वैदेशिक रोजगारी ठगीको अभियोगमा पक्राउ परे।

 

उनी सोही ठगीसँग नभई वैदेशिक रोजगारीकै अन्य कसूरमा पक्राउ परेको विभागले जनाएको छ। सिंह पक्राउ परेपछि उक्त म्यानपावर नवीकरण नभएको विभागले जनाएको छ।

 

‘म्यानपावर नवीकरण नभएका कारण यतिखेर पीडितको रकम कसरी फिर्ता गराउने भन्ने समस्या देखिएको छ,’ विभागका महानिर्देशक दाहालले भने, ‘उक्त म्यानपावरको नाममा रकम असुल गरिए पनि लिने व्यक्तिहरू अरू नै रहेछन्।नागरिक दैनिकमा खबर छ।